
स्थानीय तह चुनाव नजिकिँदै जाँदा हरेक गाउँठाउँका चोकचोकमा चुनावी बहस भइरहेको छ । अहिले पसलमा अधिकांश मानिसहरू चिया गफमा राजनीतिका मीठा गफ गरेर जनतालाई उत्तेजित गरिरहेका छन् ।
देशैभर राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारको तयारीमा जुट्न थालेका छन् । देशका अधिकांश स्थानीय तहमा सत्ता गठबन्धनका उम्मेदवारले अरु राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
कैलालीको धनगढीका मतदाता भने गठबन्धनप्रति सन्तुष्ट छैनन् । धनगढीका स्थानीय गगनबहादुर ठकुरी राजनीतिक रूपमा भएको गठबन्धनप्रति असन्तुष्ट छन् ।
गठबन्धले गर्दा देशमा समस्या आउन थालेको इङ्गित गर्दै उनले भने, ‘गठबन्धनको राजनीतिले अहिले त भागबण्डा लगाएर जित्ने भए । जितेर सत्तामा पुगेपछि देशै भाग लगाएर खालान् कि भन्ने डर पो भयो ।’

मत नदिऊँ भने पनि राम्रा उम्मेदवारले हार्लान् भन्ने चिन्ता, दिँदा पनि गठबन्धनको मात्रै हालीमुहाली भएर भोलि अर्को समस्या आउला कि भन्ने डर भएको तर्क ठकुरीले दिए ।
ठकुरीका अनुसार चुनावमा गठबन्धन वा एक्लै भए पनि उम्मेदवार राम्रा नै उठाउनुपर्ने रहेछ । ‘राम्रो उम्मेदवार भयो भने पक्कै गलत गर्दैन, जनतालाई हेर्छन् र विकास निर्माण पनि गर्छन् भन्ने आशा हुने बुझाइ ठकुरीको छ । उनले भने, ‘हाम्रो ठाउँको विकास गर्ने, प्रतिबद्ध र निस्वार्थ काम गर्ने व्यक्ति भने आफैं छान्नुपर्नेछ ।’
राम्रा उम्मेदवार छान्ने र विकासमा प्रतिबद्ध भएको व्यक्तिलाई भोट दिनुपर्ने तर्क उनले गरे ।
धनगढीमा प्रमुख राजनीतिक पार्टी एमाले, कांग्रेस, राप्रपा र स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारले प्रमुख पार्टीलाई टक्कर दिने गरेका छन् । धनगढी उपमहानगरपालिमा गठबन्धन हुँदा मेयरको भाग नेपाली कांग्रेसलाई परेको छ ।
कांग्रेसका नृपबहादुर वड, एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपी हमालसहितले मेयरमा दाबी गर्दै उम्मेदवारी दर्ता गरेका छन् ।
धनगढीकै स्थानीय सरस्वती ऐरी राजनीतिप्रति खासै चासो राख्दिनन् । कुन पार्टीले के गरेको छ भन्दा पनि राम्रो उम्मेदवार छ भने १ दिन गएर मतदान गर्ने उनले बताइन् । उनी भन्छिन्, ‘आफूले भनेजस्तो काम गर्ने त कसले होला र ? तर पनि गाउँठाउँको विकास गर्ने, राम्रो उम्मेदवार छ भने आफूले मतदान गर्नुपर्छ ।
यसअघिको चुनावमा खासै चासो नराख्ने उनी यसपटक मतदान गर्न उत्साहित छिन् । उनी भन्छिन्, ‘चुनावका बेला उम्मेदवार घरघर आउने, मत माग्ने, मत दिनुस्, राम्रो गर्छु भन्ने गर्छन् । त्यसैले आफूले दिएको मतले राम्रो मान्छेलाई जिताउन पनि मतदान गर्नुपर्छ ।’
चुनाव आउँदा चहलपहल र राजनीतिक माहोल तात्छ तर यो बेला जनता आ–आफू लड्ने मात्रै गरेका धनगढीको चटकपुरका स्थानीय प्रयाससिंह बोहोरा बताउँछन् । उनले भने, ‘राजनीति गर्नेहरूको अगुवाइमा डाँडो खनेर सम्याउन पार्न लागिएको छ । अहिले फेरि चुनाव आएको छ । हामीले जिताएर पठाएकै प्रतिनिधिको अगुवाइमा विकास निर्माण गर्ने तर प्राकृतिक दोहन नहोस्, डाँडाकाँडा मास्ने हैन जोगाउने प्रतिनिधि चाहिएको छ ।’

उनका अनुसार यसपटक चुनावले राजनीतिक दललाई केही सबक सिकाउँला कि भन्ने पनि लागेको छ । उनी हरेक व्यक्तिले दिएको १–१ भोटबाटै राम्रो प्रतिनिधिले जित्ने भएकाले मत दिन जानुपर्ने पनि बताउँछन् ।
धनगढी विमानस्थल नजिकैकी स्थानीय सरस्वती पछाई विकास निर्माणमा नेताले गरेको भाषण र यहाँको अवस्थाप्रति बढी केन्द्रित छिन् । उनी भन्छिन्, ‘नेताहरूले सधैं धनगढीमा विमानस्थल स्तरोन्नति गर्ने कुरा उठाउँछन्, चुनाव आउँदा हरेक पटक कुरा उठ्छ तर चुनाव पछि हराउँछन् । उनले भनिन्, ‘नेताहरूले जितेपछि विकास निर्माणको काम बिर्सनु नै सबैभन्दा विडम्बनाको विषय हो ।’
चटकपुरकै अर्का स्थानीय हरिबहादुर सिंहले पनि चुनावको बेला नेताहरूको वाचा आउने तर जितेर गएपछि बिर्सने गरेको गुनासो गरे । उनले भने, ‘यहाँ जहिले पनि धनगढी विमानस्थल बनाउने भन्छन्, काम गर्दैनन् । जहिले पनि आफूले कमाउने धन्दा बनाएका छन्,’ सिंहले लोकान्तरसँगको कुराकानीमा भने, ‘जो आए पनि आफूले कमाउन आउने हुन्, जनताको लागि काम गर्ने कोही आउँदैनन् ।’

यो पटक स्थानीय स्तरबाटै विकास निर्माणमा प्रतिवद्ध उम्मेदवार जिताउनुपर्ने उनले बताए । ‘यसले अर्कोपटक केन्द्रीय र अर्को बेला विकास निर्माणको माहोल बढ्ने र सबैले त्यस्तै उम्मेदवार खोज्छन्, जसले देश विकासमा सहयोग पुर्याउनेछ,’ उनले भने ।