२६ जेठ २०८३, मंगलबार

‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ : दीपाश्रीदेखि निश्चलसम्मले हेरे सिनेमा

बैशाख १५, २०७९
‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ : दीपाश्रीदेखि निश्चलसम्मले हेरे सिनेमा

भोलि अर्थात शुक्रवारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । 

सिनेमाको बुधवार साँझ राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो । 

प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि सिनेमा क्षेत्रका चर्चित अनुहारहरूको उपस्थिति थियो ।

अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईं, मोडल निराजन प्रधान लगायतको उपस्थिति थियो । 

करिब ५१०० मिटरभन्दा माथिको उचाइमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको सिनेमालाई 'हिमाली प्रेमकथा' भनिएको छ ।

‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकराजले सिनेमाको छायाँकन स्थलले सबैभन्दा बढी लोभ्याउने बताए ।

‘सिनेमा जुन ठाउँमा छायाँकन गरिएको छ, त्यो छायाँकन स्थलले सबैभन्दा बढी लोभ्याउँछ । सिनेमामा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौं’ अभिनेता दीपकराजले भने, ‘अर्को ब्याकग्राउण्डस्कोर सबैभन्दा बढी बुलन्द छ सिनेमाको ।’

उनले ‘मन्त्र’फरक खालको लभस्टोरी सिनेमा लागेको बताउँदै सिनेमामा बोनसका रुपमा कमेडीसँगै हिमालका दृश्यहरू, ब्याकराउन्डस्कोर रहेको प्रतिक्रिया दिए । 

अभिनेत्री दीपाश्री निरौलाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा दीपकराजतर्फ हेर्दै भनिन्, ‘अब यस्तै स्क्रिप्ट चाहियो मलाई । यस्तै पहाडको स्क्रिप्ट चाहियो, यस्तै मनास्लुको स्क्रिप्ट चाहियो ।’

उनले ‘मन्त्र’ हेरुञ्जेल सिनेमाको कथावस्तु, लोकेशनले आफूलाई बाँधेर राखेको प्रतिक्रिया दिइन् । सिनेमाको कथा वाचन, लोकेशन, डिओपी, कलाकारहरूको काम सबै पक्ष राम्रो रहेको बताइन् । उनले सिनेमाको क्लाइमेक्स सिन नछुटाउन समेत दर्शकलाई आग्रह गरिन् । 

प्रिमियरमा कमै पुग्ने अभिनेता एवं निर्देशक निश्चल बस्नेतले सिनेमा रमाइलो लागेको बताए । उनले कुनै भेगको आफ्नै कथालाई सिनेमामा रमाइलो तरिकाले प्रस्तुत गरिएको बताए ।

‘हेरौं कतिबेरसम्म बस्न सकिन्छ भनेर हेरिरहेको थिएँ । तर, पुरै सिनेमा आरामसँग हेर्न सकियो,’ बस्नेतले भने, ‘पछिल्लो समय नेपालभित्रको विभिन्न भेगको विभिन्न कथाहरू सिनेमामा आइरहेको छ । यसरी नै सिनेमाहरू बन्दै जानुपर्छ जस्तो लाग्छ ।’

निश्चलले पनि ब्याकराउन्डस्कोर सिनेमाको सशक्त पक्ष रहेको प्रतिक्रिया दिए । निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईं लगायतले सिनेमा मन परेको प्रतिक्रिया दिएका थिए ।

प्रिमियरमा अभिनेता बुद्धि तामाङ छायाङ्कनमा भएका कारण उपस्थित हुन् सकेनन् भने अभिनेत्री दीया पुन सगरमाथा आरोहणका क्रममा रहेकाले उपस्थित भइनन् ।  अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिए । 

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको सिनेमा ‘मन्त्र’मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ । 

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् ।

परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।

सिनेमाको काठमाडौँ बाहिर एफडी कम्पनी र उपत्यकामा काफिया फिल्मस्ले वितरणको जिम्मा लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्