१० साउन २०८३, आइतबार

राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ, भव्य तयारीमा जुट्नुहोस् : मन्त्री गहतराज

बैशाख १५, २०७९
राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ, भव्य तयारीमा जुट्नुहोस् : मन्त्री गहतराज
फाइल फोटो

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै आयोजना हुने बताएका छन् ।

प्रतियोगिताको तयारी लगायतबारे मन्त्रालयले बिहीवार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस वर्ष निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको उल्लेख गरे ।

मन्त्री गहतराजले समय कम भए पनि प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न सकिने अवस्था रहेकाले कुनै आशंका नराख्न आग्रह गर्दै भव्य तयारीमा जुट्न सरोकारवालालाई आग्रह गरेका थिए ।

‘यही वर्ष र निर्धारित अवधिमा राष्ट्रिय खेलकुद सम्पन्न गर्न सक्छौं, अब कहिले हुन्छ भन्ने अवस्था छैन, चाडपर्व, संघ र प्रदेशको निर्वाचन, मौसम लगायतका कारणले पछि राष्ट्रिय खेलकुदलाई प्रभाव पार्ने भएकाले सरकार तोकिएको मितिमा प्रतियोगिता सम्पन्न गर्न लागेको छ,’ उनले भने ।

प्रतियोगिताका ३६ खेलमध्ये सुटिङ र पौडीका पूर्वाधार पोखरामा नरहेकाले अन्यत्र लैजानुपर्ने बाध्यता रहे पनि अन्य सबै खेलका पूर्वाधार तयार रहेको मन्त्री गहतराजले बताए । उनले प्रतियोगिताका लागि हरेक प्रदेशले आफ्नो टोली र विभागीय टोली सम्बन्धित विभागले तयार पार्नुपर्ने दायित्व भएकाले सोहीअनुसार गर्न आग्रह गरे । उनले भने, ‘प्रदेशको टिम सोही प्रदेशले बनाउने हो, सोका लागि आवश्यक नीतिगत, आर्थिक र प्राविधिक जनशक्तिको सहयोग केन्द्र सरकारले उपलब्ध गराउँछ ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले देश खेलमय बनेको बताउँदै खेलाडी, खेल प्रशिक्षक र खेलकुद पदाधिकारी पोखरा र गण्डकीमा आउन आतुर रहेको बताए ।

उनले ७ प्रदेश, ३ विभागीय र एनआरएनको टोली गरी ११ टोलीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्