
संखुवासभाको खाँदबारी नगरपालिकामा श्रीमान् श्रीमती प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उनीहरूले एउटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा जसपाबाट उम्मेदवारी दिएका हुन् ।
मेयरमा सीताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी तिम्सिनाले मनोनयन दर्ता गाएका छन् । मेयर पदका उम्मेदवार तिम्सिना जनता समाजवादी पार्टीको सङ्घीय परिषद् सदस्य हुन् ।
मैयाँदेवी यसअघिसम्म खुलेकी थिइनन् । श्रीमतीले पनि उपमेयरमा उठ्ने इच्छा राखेकाले आफ्नै पार्टीको चुनाव चिह्नमा उठ्न सहमति दिएको सीताराम बताउँछन् ।
केन्द्रमा गठबन्धन बने पनि संखुवासभामा भने जसपा गठबन्धनभन्दा बाहिर छ । गठबन्धनमा रहेका तीन दलले हेपेपछि उम्मेदवारी दिएको उनले बताए ।
संखुवासभाका ६ वटा वडामा वडाध्यक्ष दिने सहमति भए पनि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको उक्साहटमा लागेर कांग्रेसले भागबन्डापछि बेइमानी गरेको उनले आरोप लगाए ।
पहिला गठबन्धन गर्दा आफ्नै वडामा अध्यक्ष दिने सहमति गरे पनि तीन दलले तँछाडमछाड गर्दै उम्मेदवारी दर्ता गराएपछि आफूले उम्मेदवारी दर्ता गराएको उनले बताए । उनको घर खाँदबारी ९ मा पर्छ । अघिल्लो चुनावमा खाँदबारीमा जसपाले कुनै पनि सिट जितेको थिएन । तिम्सिनालाई जिल्ला समन्वय समिति संखुवासभाको उपाध्यक्ष दिने सहमति समेत भएको थियो ।
चुनावी एजेन्डासहित घरदैलो गर्न थालेको उनीहरूले बताएका छन् । उनीहरू दुवैजना ६५ वर्षका हुन् । उनी एमाले, माले हुँदै जसपामा आएर मेयरमा उठेका हुन् ।
पार्टीका नेताहरूले उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि संखुवासभाका गठबन्धनमा आवद्ध दलहरूले पहिला गरिएको सहमति कार्यान्वयन नगरेसम्म फिर्ता नलिने उनले बताए ।
खाँदबारी नगरपालिका मेयरका लागि ३ स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको छ ।
खाँदबारी नगरपालिकाको नगर प्रमुखमा पाँचदलीय गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा नेकपा माओवादी केन्द्रका दिव्यराज बरालको उम्मेदवारी परेको छ ।
मेयर पदका लागि नेकपा एमालेबाट जीतबहादुर घिमिरेको उम्मेदवारी परेको छ ।
त्यस्तैगरी राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोर्चाबाट हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोमनाथ खनाल र स्वतन्त्रबाट प्रवीण कार्की, सुदीप गुरुङ र खड्गबहादुर दमाइले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।