११ साउन २०८३, सोमबार

फिमेल भर्सनमा पनि आउने भयो ‘कालो केशमा रेलिमई’

बैशाख १६, २०७९
फिमेल भर्सनमा पनि आउने भयो ‘कालो केशमा रेलिमई’

६ महिनाअघि दिनेश ढकालको शब्द, संगीत र स्वरमा सार्वजनिक भएको गीत हो, ‘कालो केशमा रेलिमई’ । 

गीत सार्वजनिक भएसँगै टिकटक, युट्युब हुँदै सर्वत्र लोकप्रिय बन्यो । थुप्रै सेलिब्रेटीहरूले समेत गीतमा टिकटक बनाए । युट्युबमा १ करोड २८ लाख बढी भ्युज पाइसकेको गीत अहिले पनि शहरका रेष्टुरेण्टदेखि ग्रामीण क्षेत्रमा समेत उत्तिकै सुन्ने गरिन्छ । 

पुरुष आवाजमा मात्र गुञ्जिएको गीत अब भने स्रोता एवं दर्शकले महिला आवाजमा समेत सुन्न पाउने भएका छन् । ‘कालो केशमा रेलिमई’ फिमेल भर्सनमा पनि आउने भएको हो । 

‘फुलबुट्टे सारी’, ‘टाढा भएपनि’, ‘आँखामा आउने सपनी’जस्ता हिट गीतको भिडियो ल्याएको केन्द्र मोशन पिक्चर्सले ‘कालो केशमा रेलिमई’को फिमेल भर्सन ल्याउन लागेको हो । 

केन्द्र मोशनले शुक्रवारमात्रै ‘कालो केशमा रेलिमई’का सर्जक दिनेशसँग सहकार्य गर्ने सम्झौता गरेको हो । 

‘उहाँसँग सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । अहिलेलाई उहाँको चर्चित गीत ‘कालो केशमा रेलिमई’ फिमेल भर्सनमा ल्याउने सम्झौता भएको छ,’ केन्द्र मोशन पिक्चर्शका सिईओ अर्बिन पोमु लिम्बुले लोकान्तरसँग भने, ‘विस्तारै अन्य प्रोजेक्टहरूमा पनि उहाँसँग सहकार्य हुनेछ ।’ 

उनले गायक दिनेशसँग सहकार्य गर्ने आफूहरूको अलि पहिलेदेखिकै सोच रहेपनि अहिले जुरेको बताए । चित्तबुझ्दो हिसावले पारिश्रमिक दिएर ‘कालो केशमा रेलिमई’को फिमेल भर्सन ल्याउन लागेको उनले बताए । 

फिमेल भर्सनका लागि 'डमी' तयार भइसकेको उनले जानकारी दिए । ‘केही गायिकाहरू छनोट गरेर कसलाई गाउन दिँदा राम्रो हुन्छ त्यहिअनुसार अगाडि बढ्छौं,’ केन्द्र मोशनका सीईओ लिम्बुले भने, ‘गीतमा नयाँ टेष्ट पाउनुहुनेछ । पहिलेभन्दा अझ राम्रो बनाउने प्रयास गर्नेछौं । एक, डेढ महिनामा गीत सार्वजनिक गर्नेछौं ।’

सर्जक एवं गायक दिनेशले पनि केन्द्र मोशन पिक्चर्ससँग जोडिन पाउँदा खुशी व्यक्त गरे । 

‘उहाँहरूको काम एकदमै राम्रो छ । गीत, भिडियोको क्वालिटीदेखि, प्रोमोशनका कुराहरू उहाँहरूले अलि प्रोफेसनल्ली हिसावले नै गर्दै आउनुभएको छ,’ दिनेशले भने, ‘त्यहाँको धेरै कन्टेन्टहरू पनि राम्रो छ ।’ 

दिनेशले यतिबेला ‘कालीगंगा तीर, दुई वचन हाँसेर बोल कसलाई छ नी पिर’बोलको गीत तयारी गरिरहेका छन् । ‘लोक प्याटनकै गीत हो । कालो केशमा नगरेको प्रयोग यसमा गर्न खोजेको छु । हेरौं कस्तो हुन्छ’ उनले भने, ‘गीत र भिडियो बनेर सार्वजनिक हुन अझै एक–डेढ महिना लाग्ला ।’

salt training

कमेन्ट गर्नुहोस्