
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फार्ममा रहेको ३ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
बिहीवार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा, मकवानपुर कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि लगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो । सो फार्ममा पालिएका ३ हजार ४५३ वटा कुखुरा, ५ हजार ७८० अण्डा र ४५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
उनका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्डफ्लु प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमूना परीक्षण भने नेगेटिभ आएको छ ।