
नेपालले दक्षिण अफ्रिकाका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ ।
दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा शुक्रवार आयोजित संक्षिप्त समारोहमा कार्यबाहक राजदूत ज्ञानबहादुर मगरले त्यहाँको सामाजिक विकास विभागका उपनिर्देशक क्याथी माटामेलालाई राहत सामग्री हस्तान्तरण गरे ।
शुक्रवार प्रदान राहत सामग्रीमा चामल, पिउनेपानी, कम्बल, खाना पकाउने तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु रहेका प्रिटोरियास्थित दूतावासले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण अफ्रिकाले त्यहाँको मुद्रा १० हजार र दूतावासका कर्मचारीले पनि आर्थिक सहयोग गरेका छन् ।
उपनिर्देशक मातामेलाले दूतावास र नेपाली समुदायलाई विपद् पीडितका निम्ति आधारभूत आवश्यकता पूरा गर्न समयमै मानवीय सहायता प्रदान गरेकामा धन्यवाद ज्ञापन गरेका थिए । दक्षिण अफ्रिका गणतन्त्रको क्वाजुलु–नाताल, पूर्वी केप र उत्तर पश्चिम प्रान्तमा हालै आएको बाढीमा परी तीनसयभन्दा बढीको मृत्यु हुनाका साथै करोडौंको भौतिक क्षति भएको थियो ।
नेपालका भूकम्प पीडितलाई २०७२ सालमा दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका अधिकारी तथा कर्मचारी, परोपकारी संस्थाले पनि सहयोग गरेको थियो ।