
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । हालसम्म प्राप्त विवरणअनुसार सबै दलका गरी कुल १ लाख ५३ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यसमा अन्तिम रुप दिने कार्य जारी रहेकाले केही अंक तलमाथि हुनसक्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारमध्ये सबै पदमा गरी कुल ३५ हजार २२१ जना निर्वाचित हुने व्यवस्था रहेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ ।
जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
००००
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करीब ४ हजारले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रवार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करीब ४ हजारले फिर्ता लिएका जानकारी प्राप्त भएको बताए ।
००००
तर, चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनविरुद्ध बागी उठेका जगन्नाथ पौडेलको उम्मेदवारी कायम रहने भएको छ ।
गठबन्धन गर्दा भरतपुरको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पौडेल पूर्व सांसद समेत हुन् ।
गठबन्धनबाट माओवादीकी रेनु दाहाल आधिकारिक उम्मेदवार बनेकी छिन् । दाहाल निवर्तमान मेयर हुन् ।
गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायतले भरतपुर पुगेर फकाए पनि पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन् । यस्तै पोखरालगायतका स्थानीय तहमा पनि बागीले उम्मेदवारी फिर्ता लिएनन् । बागीलाई उम्मेदवारी फिर्ता लिन सम्बन्धित दलहरुले दवाव दिएको भएपनि उनीहरु टसमस नभएका हुन् । यसले चुनावी समीकरणमा असर पर्न सक्ने आकलन समेत छ । यद्यपि दलहरुले पार्टीको निर्णय नमान्नेलाई कारबाही भने गर्ने निश्चित छ ।
००००
सर्वोच्च अदालतले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ममताकुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बिहीबार निर्वाचन आयोगको चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
चौधरीले आफूले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरे पनि निर्वाचन आयोगले कम्यूटरमा प्रविष्ट नभएको उल्लेख गर्दै खारेज गर्न लागेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
००००
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने ५ जना निर्विरोध भएको घोषणा भएको छ । निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीको धवलागिरि गाउँपालिकाका विभिन्न वडामा ५ जना निर्विरोध भएको घोषणा गरेको हो ।
निर्विरोध हुनेमा धवलागिरि गाउँपालिका वडा नम्बर १ का अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र वडा सदस्य रहेका छन् । यस्तै वडा सदस्यमा अर्का एक जना स्वतन्त्रबाट उम्मेदवारी दिने पनि विजयी भएका छन् ।
स्वतन्त्रबाहेक ४ जना भने माओवादी केन्द्रबाट उम्मेदवार थिए ।
००००
सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बलेरो दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको हो ।
००००
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फार्ममा रहेको ३ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
बिहीवार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको हो ।
००००
सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथिको निलम्बनका सम्बन्धमा यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले स्पष्ट आधार र कारणविना सरकारले गभर्नरमाथि छानबिन अगाडि बढाउन नसक्ने भन्दै यसअघिकै अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
००००
नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ । कतिले मल्द्वारामा राखेर सुन तस्करी गरेका, कतिपयले फल्स बटम बनाइ तस्करी गरेका त कतिले पेटभित्र राखेर सुन तस्करी गरेका घटना यसअघि सार्वजनिक भएकै हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी नै सुन तस्करसँग मिलेमतो गरेका घटना पनि सार्वजनिक भएको थियो । तर यसपाली भने विमान सरसफाइकर्मीसमेत सुन तस्करीमा संलग्न भएको खुलेको छ ।
उनीहरूमार्फत दुई किलो ३३२ ग्राम अवैधरुपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको बजार मूल्य झण्डै रु दुई करोड हुन्छ । उनीहरू मतियारका रुपमा काम गरी विदेशबाट अवैधरुपमा ल्याइएको सुनलाई विमानस्थल कटाउने कार्यमा सरिक भएको पाइएको हो । सरसफाइकर्मी मतियारका रुपमा प्रयोग भएका छन् ।