०८ असार २०८३, सोमबार

गाउँमा चुनावी चहलपहल बढ्यो

बैशाख १९, २०७९
गाउँमा चुनावी चहलपहल बढ्यो

आसन्न  स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन् ।  नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मङ्गोल अर्गनाइजेशनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । दलका झण्डा र चुनाव चिह्न राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट माग्न आउने उम्मेदवारको लर्को लागेको धौलागिरि गाउँपालिका–७ ताकमका सुनिल भण्डारीले बताए । 

“फरक–फरक दलको वडा र पालिकाका उम्मेदवार घरदैलोमा हिँड्नुभएको छ”, उनले भने, “उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ ।”  उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् । धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन् । नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन् । 

छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधि निर्विरोध भएका छन् । 

सबैजसो टोलमा कुनै न कुनै दलका उम्मेदवार भएकाले चुनावले चहलपहल बढाएको बेनपा–९ का केशव चोखालले बताए । घरदैलोका क्रममा उम्मेदवारले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । उनीहरुले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन् । 

सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागितामूलक बनाउने उम्मेदवारको कार्यसूची छ । 

 माओवादीबाट मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले गाउँका सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार पु¥याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने मुद्दालाई जोड दिएको बताए । 

मालिका–६ दरवाङका खेमबहादुर पुनले गत चुनावमा जनप्रतिनिधिले खानेपानी ल्याउने वाचा अझै पूरा नगरेका गुनासो गरे ।

salt training

कमेन्ट गर्नुहोस्