
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले काँग्रेससँग गरेको गठबन्धन तोडेको छ ।
माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी)सँगको सहमति तोडेर शुक्रबार नेपाली काँग्रेससँग तालमेलको सहमति गरेको थियो ।
काँग्रेससँग तालमेलको सहमति गरेर उम्मेदवारी फिर्ता लिन लगाए पनि माओवादीले काँग्रेससँग सहमति तोडेको हो । उम्मेदवारी मनोनयन दर्ताअघि सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेलबाट चुनाव लड्ने सहमति गरेका थिए ।
सो पालिकामा नेकपा (एमाले), नेपाली काँग्रेसलगायतका दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका थिए ।
मनोनयन फिर्ता गर्ने दिन शुक्रबार माओवादीले समाजवादीसँग भएको सहमति एकाएक तोड्दै काँग्रेससँग तालमेल गर्ने निर्णय गर्यो ।
काँग्रेसलाई अध्यक्ष दिने र उपाध्यक्ष माओवादीले लिने सहमति भयो । सोही सहमतिअनुसार काँग्रेसबाट उपाध्यक्ष उम्मेदवार बनेकी चण्डिका उप्रेतीले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी थिइन् । शुक्रबार काँग्रेससँग भएको सहमति तोड्दै शनिबार माओवादी र समाजवादीबीच नयाँ सहमति भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।