
पाल्पाको रामपुर नगरपालिका-१०, सिकुवाडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् ।
आक्रमणबाट चोलाकान्त कुमाल, मनोज उप्रेती, राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते भएका छन् ।
नेकपा एमालेका नगर प्रमुख-उपप्रमुखसहितका उम्मेदवारले प्रचारप्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दैगर्दा सिकुवाडाँडामा कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।
‘बिहानैदेखि वडा नम्बर १० को विभिन्न स्थान हुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाइ, दिदीबहिनीसँग परिचय एवम् मत माग्ने काम गरिरहेका बेला नेपाली कांग्रेस पार्टीका चारतारे झण्डासहितका १०० जनाको समूह हतियार खुकुरी भालासमेत लिएर फिल्मी शैलीमा आक्रमण गरे,’ एमाले नेता युवराज खनालले भने ।
कांग्रेस कार्यकर्ताले प्रचारमा प्रयोग भएको गाडी पनि तोडफोड गरेको एमालेका स्थानीय नेता टंकनाथ खनालले बताए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको बताए ।
‘दुवै पक्षले आ-आफ्ना कार्यकर्ता घाइते भएको बताएका छन्,’ उनले भने ।
निर्वाचनको समयमा पुनः यस्ता घटना दाहोरिन सक्ने भएकाले आक्रमणमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





