
एकातिर सत्तारुढ गठबन्धन सहितका मुख्य दलको मोर्चाबन्दी, अर्कोतिर नेकपा एमाले एक्लै मैदानमा । यसरी राष्ट्रिय राजनीतिमै प्रभाव पार्न सक्ने बुटवल उपमहानगरपालिकाको निर्वाचन प्रतिस्पर्धा रोचक बन्दैछ ।
स्थानीय तह चुनाव होस् वा प्रतिनिधिसभा निर्वाचन, रूपन्देहीको बुटवलले देशकै ध्यान खिच्ने गर्छ । बुटवल लुम्बिनी प्रदेशको राजनीतिक केन्द्र हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुटवलको मेयरमा ९ जनाले उम्मेदवारी दिएका छन् तर मुख्य प्रतिस्पर्धा एमालेबाट मेयरको उम्मेदवार बनेका बाबुराम भट्टराई र गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेबीच हुनेछ ।
भट्टराई र पाण्डे स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट बुटवल झरेको व्यक्ति हुन् । भट्टराई कालीगण्डकीको ४ नम्बर वडा र पाण्डे २ नम्बर वडाबाट २०३५ सालतिर बुटवल झरेका थिए ।
अझै रोचक गठबन्धनबाट उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङ पनि स्याङ्जाबाट बुटवल झरेर राजनीतिमा होमिएका व्यक्ति हुन् । एमालेले उपमेयरमा पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई अगाडि सारेको छ भने नेकपा एकीकृत समाजवादीका नेता गुरुङलाई गठबन्धनले उपमेयरको साझा उम्मेदवार बनाएको छ ।
मेयरमा गाउँले र उपमेयरमा पूर्वसहयात्री बीचको प्रतिस्पर्धाले बुटवलको स्थानीय तह निर्वाचनलाई कम रोचक छैन । बुटवलको नेतृत्व गर्न गठबन्धन गरेर पाण्डे र एमाले नेता भट्टराई एक्लै चुनावी मैदानमा होमिएको छन् ।
बुटवलमा २०५६ सालपछिका स्थानीयदेखि संसदीय निर्वाचनमा एकछत्र ‘राज’ गर्दै आएको एमालेले यसपटक, कांग्रेस, माओवादी केन्द्र, नेकपा एस लगायतका सत्तारुढ दललाई एक्लै ‘फेस’ गर्नुपर्ने भएको छ । कांग्रेसले पनि गठबन्धन भएको मौकामा एमालेको किल्ला भत्काउने दाउ हेरेको छ तर मेयरका उम्मेदवार पाण्डे बुटवललाई एमालेको गढ भन्ने कुरा स्वीकार गर्दैनन् ।
‘बुटवल एमालेको गढ कसरी हुन्छ ?’ पाण्डेले भने, ‘२३ सय मतले म गत निर्वाचनमा पराजित भएको ठाउँमा कसरी गढ हुन्छ ? २३ सय मत भनेको त १२ सय मत यताउता हुँदा नतिजा उल्टिने अवस्था हैन र ? मैले गढ भन्दिनँ । गत निर्वाचनमा हाम्रा प्राविधिक त्रुटिहरू थिए ।’
पाण्डे गत निर्वाचनमा एमालेका उम्मेदवार शिवराज सुवेदीसँग पराजित भएका हुन् । सुवेदीले २३ हजार २४९ र कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए । सुवेदी र पाण्डेको मतान्तर २ हजार ३९८ थियो । उपमेयरमा एमालेकी गुमादेवी आचार्य र माओवादी केन्द्रका जगतबहादुर पोखरेलको भने १० हजारभन्दा बढी मतान्तर थियो ।
आचार्यले २५ हजार ३०१ मत ल्याउँदा पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । १९ वडा रहेको बुटवलमा १४ वडामा एमाले र ४ वडामा कांग्रेसले जीत निकालेको थियो भने माओवादीले एउटा वडा पनि जित्न सकेको थिएन ।
२०५६ र ०७४ सालको स्थानीय निर्वाचन जितेको एमाले आफ्ना उम्मेदवार भट्टराईलाई जिताएर बुटवलमा ‘ह्याट्रिक’ गर्ने रणनीतिका साथ लागेको छ । पाण्डे सत्ता गठबन्धनको बलबाट बुटवलमा एमाले किल्ला भत्काउन चाहन्छ तर गठबन्धनलाई बुटवलमा एमालेको शक्ति भत्काउन त्यति सहज भने छैन । किनभने ५ वर्षअघि पनि कांग्रेस र माओवादीले गठबन्धन गरेर चुनाव लड्दा पनि एमाले एक्लै मेयर, उपमेयरसहित बहुमत वडामा जितेको थियो । बुटवल नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र तथा गृहनगर हो ।
पौडेलले बुटवलबाटै २०६४, २०७० र २०७४ सालको संसदीय निर्वाचन जितेका छन् । कांग्रेस विगत २२ वर्षदेखि बुटवलमा दह्रो गरी कहिल्यै उभिन सकेको छैन । २०७० सालको दोस्रो संविधानसभा चुनावमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई पनि साविक रुपन्देही क्षेत्र नम्बर ४ (हाल २) बाट लडेका थिए । एसएलसीमा बोर्ड फस्ट भट्टराई रुपन्देहीको चुनावमा तेस्रो हुन पुगेका थिए ।
बुटवल नगरको ३ कार्यकाल सभापति रहेका पाण्डेले मेयर लड्न १ वर्ष अघिदेखि नै चुनावी रणनीति बनाएर थिए । यसपटक पाण्डेलाई जित्नैपर्ने दबाब छ भने भट्टराईलाई एमाले किल्ला जोगाउनुपर्ने चुनौती छ । १९ वडा रहेको बुटवलमा अहिले २४ हजार मतदाता थपिएका छन् । गत निर्वाचनमा ६६ हजार ९० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६५ मतदाता पुगेका छन् ।
एमालेमा आएको विभाजनले मतदाताहरू केही घटे पनि त्यो नेकपा एमालेले अस्वीकार गर्दै आएको छ । एमाले उम्मेदवार भट्टराईले आफूले निर्वाचित भएर बुटवललाई बदल्ने दाबी गरे । बलियो संगठन, इमान्दार र जुझारु कार्यकर्ता रहेका कारण आफूले जित्ने भट्टराई बताउँछन् ।
बुटवलको सुकुम्बासी समस्या, ज्योतिनगर पहिरोदेखि साना व्यवसायीका सबै समस्याहरू समाधान गराउन नगरवासीले यसपटक आफूलाई रोज्ने पाण्डेको दाबी छ ।
भट्टराईले १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए । फलस्वरूप २०३६ सालदेखि उनी कम्युनिस्ट पार्टीमा आवद्ध भए । लामो समय व्यवसाय क्षेत्रमा रहेर काम गरेका उनी पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् ।
नेपाल औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष भट्टराईसँग पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर काम गरेको अनुभव छ । उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरे । पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् ।
सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरू बताउँछन् । भट्टराई राष्ट्रियसभा सदस्य गोपाल भट्टराईका सहोदर भाइ हुन् । भट्टराईको घर बुटवल–६ मा छ ।
बीपी कोइरालाका पुस्तकहरूको अध्ययनबाट प्रभावित भएपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका पाण्डेले कांग्रेसभित्र पनि लोभलालचरहित, सामान्य परिवार, सरल तथा प्रस्ट वक्ताको रूपमा आफूलाई प्रस्तुत गर्ने गरेका छन् । बिहानदेखि साँझसम्म सर्वसाधारणको समस्या समाधानमै समय बिताउने पाण्डे बुटवलका हरेक गल्ली तथा चोकचोकमा हिँडेरै नागरिकका दुःखसुखमा सहभागी हुने गरेको बताउँछन् । पाण्डे बुटवल–८ सुक्खानगरमा भाडाको घरमा बस्दै आएका छन् ।
गठबन्धन दलका सबै कार्यकर्ताबाट भोट आए आफूले अंकगणितको आधारमा जित्ने पाण्डेको आत्मविश्वास छ । ‘हाम्रो पार्टीभित्र देखिएको असन्तुष्टिले चुनावी परिणाममा असर गर्दैन । बुटवलमा विकल्पको खोजी भइरहेको छ । म यसपटक चुनाव जित्छु,’ पाण्डेले भने, ‘गठबन्धन इमान्दारिताका साथ कार्यान्वयन भए बुटवलमा यसपटक नेतृत्व उल्ट्याउन सकिन्छ । यसपटक भोट क्रस गर्ने छुट कसैलाई हुने छैन,’ उनले भने ।
आफूहरूको अस्तित्व स्वीकार नगरेको भन्दै सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) नेपालले बुटवलमा मेयर/उपमेयर दुवैमा उम्मेदवारी दिएको छ ।
चुनावको गणित र जनताले एमालेलाई नै रोज्ने एमालेकी उपमेयरकी उम्मेदवार सावित्रा अर्यालले बताइन् । गठबन्धनबाट उपमेयरका उम्मेदवार गुरुङले बुटवलका जनताले परिवर्तन खोजेकाले गठबन्धन गरेर चुनावमा होमिएको बताए ।
बुटवल पहाडी जिल्लाको बसाइसराइको केन्द्र हो । बुटवलको जनसंख्या झण्डै २ लाख छ । एमाले आफ्नो अस्तित्व रक्षा कसरी गर्ने भन्ने उद्देश्यका साथ लागिपरेको छ भने गठबन्धन एमालेको किल्ला तोड्न चाहन्छन् । बुटवल देशकै पुरानो नगरपालिका मध्येको हो । बुटवल विक्रम संवत् २०१६ सालमा नगरपालिका बनेको थियो ।