०१ असार २०८३, सोमबार

चितवनमा गोहीका ५१९ अण्डा संकलन

बैशाख १९, २०७९
चितवनमा गोहीका ५१९ अण्डा संकलन

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा संकलन गरिएको छ । ती नदी किनारमा भेटिएका १६ वटा गुँडबाट अण्डा संकलन गरिएको हो । 

निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुँड र नारायणीका ६ गुँडबाट अण्डा संकलन गरिएको हो । ती दुई नदीमा भेटिएकामध्ये आठ वटा गुडका अण्डा ल्याइएको छैन । ती दुई नदीबाट गत वर्ष ४३६ वटा अण्डा ल्याइएको थियो । ती अण्डाबाट २५८ वटा बच्चा कोरलिएका थिए । 

विगत दुई वर्षदेखि प्रजनन केन्द्रमा पारेका अण्डाबाट बच्चा कोरलिएका छैनन् । त्यहाँ २०३५, २०३६ र २०३७ सालका एक भाले र १२ वटा पोथी गोही छन् । त्यसयताका साना ठूला गरी ५३१ गोही रहेको पौडेलले जानकारी दिए । 

प्रजनन केन्द्रमा भाले बुढो भएका कारण बच्चा नकोरलिएको हुन सक्ने अनुमान छ । प्रजनन केन्द्रमा रहेका अन्य गोही साना भएकाले भाले पोथी पहिचान हुन सकेका छैनन् । 

पौडेलका अनुसार राप्ती र नारायणी नदीमा भने पाँच वटा भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो । 

राप्ती र नारायणी नदीमा अण्डा संकलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।

हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एकहजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्