
नेपाल उद्योग परिसंघ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् ।
सीएनआईको पदाधिकारी समितिको २७औं बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोशी पर्यटन क्षेत्रको प्रवद्र्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील छन् ।
जोशीले सोमवारै पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त महाप्रबन्धक जोशीलाई सीएनआईका अध्यक्ष विष्णकुमार अग्रवालले स्वागत गर्दै संस्थाको उद्देश्यअनुरूप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । महाप्रबन्धक जोशीले अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको पर्यटनका विविध क्षेत्रमध्ये आर्थिक पक्षबाट पनि सकारात्मक भूमिका खेल्न सकिन्छ भन्ने विश्वासका साथ नेतृत्वमा आएको बताए ।
उनले भने, ‘पर्यटन बोर्ड पनि सार्वजनिक निजी साझेदारी अवधारणा भएको संस्थाको नेतृत्व लिएको थिएँ । सीएनआई पनि निजी क्षेत्रको छाता संस्था भएकाले अरु बृहत् आर्थिक क्षेत्रका बारेमा थाहा हुने र यसबाट सार्वजनिक र निजी क्षेत्रको साझेदारीलाई प्रभावकारी बनाउने भूमिकामा केन्द्रित हुन्छ ।’