
केही समयअघिसम्म सुनसान रहेका होटल, रेस्टुराँ र पार्टी प्यालेस अहिले भरिभराउ देखिन थालेका छन् ।
विदेशी र आन्तरिक पर्यटकको चहलपहल बढेसँगै स्तरीय होटल र पार्टी प्यालेसमा भीडभाड बढेको हो ।
अध्यागमन विभागका अनुसार अप्रिल महिनामा मात्रै ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
हिमाल आरोहण, पदयात्रामा आउने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि तारे होटलको 'अकुपेन्सी’ ८० प्रतिशत पुगेको छ । मझौला र साना होटलमा समेत पाहुनाको सङ्ख्या बढ्दै गएको छ ।
युरोप तथा अमेरिकाले 'ट्राभल एडभाइजरी’ हटाए अझ धेरै पर्यटक आकर्षित गर्न सकिने होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।
अहिले गोष्ठी, सेमिनार, बैठक, साधारण सभा र राजनीतिक पार्टीका कार्यक्रमले कोरोना पहिलेकै अवस्थामा जस्तो व्यापार भइरहेको उनले बताए ।
“सरकारले गठन गरेको राष्ट्रिय पर्यटन पुनरुत्थान समितिले सुझाएअनुरूप नीतिगत, प्रक्रियागत संरचनागत विषयमा सुधार ल्याए अझै चहलपहल बढाउन सकिन्छ,” उनले भने । अहिले एउटा विदेशीको समूह नेपाल आउँदा १० देखि १५ कोठा बुक हुन थालेको जनकारी दिँदै उनले तारे होटल, रिसोर्ट, होमस्टेलगायत अन्य पर्यटकस्तरीय होटल सम्बद्व व्यवसाय लयमा फर्किसकेको बताए । गोरखापत्र दैनिकमा मीनराज भण्डारीले खबर लेखेका छन् ।