
ताप्लेजुङको ओलाङ्चुंगोला नाका तीन वर्ष पुग्न लाग्दा समेत खुल्न सकेको छैन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको नाका नखुल्दा जिल्लाको उत्तरी क्षेत्रमा खाद्यान्न लगायत वस्तुको आपूर्ति र अन्तरदेशीय व्यापार प्रभावित भएको छ ।
कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न/नगराउन जानकारी आएको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुंगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए ।
सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवतजावतका कारण अन्यत्र समेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो ।
वर्षा याममा याङ्मा, थुदाम, ओलाङ्चुंगोला र तोक्पेगोलावासी दैनिक उपभोग्य वस्तुका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढीपहिरोलगायत कारण स्थानीयवासी सदरमुकाम फुङ्लिङसम्म आइपुग्न सक्दैनन् ।
फक्ताङलुङ–७ ओलाङ्चुंगोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ८० प्रतिशत चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । उनले भने, ‘लामो समयसम्म नाका बन्द हुँदा खाद्य तथा अन्य सामग्री चीनबाट आउन बन्द भएको छ । याक, चौंरीका लागि नूनदेखि अत्यावश्यक खाद्य सामग्री ल्याउन पाइएको छैन ।’ आर्थिक अभियान दैनिकमा खबर छ ।