स्थानीय तह निर्वाचन सरगर्मीले यति बेला नेतालाई मात्रै होइन, तिनका परिवार, आफन्त र समर्थकलाई पनि छोएको छ ।
घरैपिच्छे उम्मेदवार खडा भएसँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ तर महोत्तरी सदरमुकाम जलेश्वर–७, बेलाकी उषा देवीलाई भने यो चुनावले अझै छुन सकेको छैन ।
एकाबिहानै उठेर भैँसीलाई नुहाउने, खुवाउने अनि दूध दुहेर बेच्न जान बिहान ६ः०० नबज्दै उषा देवी महेन्द्र चोक पुग्छिन् ।
बिहान ९ः०० बजेसम्ममा दूध बेचिसक्ने र त्यसपछि घर फर्केर खाना पकाउने उनको दैनिकी हो ।
उनी जस्तै बेला गाउँका धेरै महिलाको दैनिकी अचेल यस्तै छ । घरकै कामले फुर्सद नपाउने उहाँहरूलाई चुनावी चहलपहलले खासै प्रभाव पारेको छैन ।
अरु चुनावी चहलपहलमा रमाइरहदा उषा भने आफूले पालेको भैँसीको दूध बेचर नै छाक टार्न व्यस्त छन्। उनलाई चुनावमा कस्ले जित्ने र कस्ले हार्ने भन्दा पनि कति बेला दूूध बेचेर घर फर्किने भन्ने चिन्ताले जहिल्यै सताएको हुन्छ ।
जति चाँडो दूध बिक्री हुन्छ उहाँ त्यति चाँडै दूूध बेचेर आएको आम्दानीले छाक टार्न, खाद्यान्न र तरकारी जोहो गर्नुपर्ने हुन्छ । “यो चुनावको हामी गरिबलाई के मतलब छ,” उषा देवी भन्छिन्, “चुनाव भनेको हुने खानेका लागि हो ।” चुनावअघि मुख देखाउन नआउने नेता अहिले हात जोड्दै घरघरमा आएर म फलानो पार्टीको उम्मेदवार भन्दै लहरै लागेर आउन थालेपछि बल्ल आफूले चुनाव आएको थाहा पाएको उनी बताउँछिन् । गोरखापत्र दैनिकमा महेशकुमार दासले खबर लेखेका छन् ।