२५ जेठ २०८३, सोमबार
भाइरल घोषणापत्र

भाइरल घोषणापत्रवाला ठकुराठीलाई बालुवाटारबाट पनि फोन– कसरी फुर्‍यो यस्तो 'भिजन' ?

बैशाख २०, २०७९
भाइरल घोषणापत्रवाला ठकुराठीलाई बालुवाटारबाट पनि फोन– कसरी फुर्‍यो यस्तो 'भिजन' ?

अहिले सामाजिक सञ्जालमा एउटा चुनावी घोषणापत्र निकै भाइरल बनेको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीले तयार पारेको चुनावी घोषणापत्रलाई अधिकांशले निकै रमाइलो मानेर व्यंग्यात्मक रूपमा शेयर गरिरहेका छन् ।

ठकुराठीले घोषणापत्रमा यस्ता वाचा गरेका छन्, जुन सहजै पूरा हुने खालका छैनन् ।

उनले नागरिकलाई ३६५ दिननै दशैँ मनाउने व्यवस्था गर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका छन् ।

हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने वाचा पनि उनको छ ।

हेर्नुहोस्,घोषणापत्र:

यस घोषणापत्रबारे टेलिफोनमा लोकान्तरसँग कुराकानी गर्दै ठकुराठीले केहीले मजाक बनाए पनि आफूले जनताबाट निकै राम्रो प्रतिक्रिया पाएको बताएका छन् ।

यो घोषणापत्र सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयबाट समेत फोन आएको खुलासा उनले गरे ।

प्रस्तुत छ, ठकुराठीसँगको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

पहिला सशस्त्र प्रहरीमा थिएँ । वाकीटकी मर्मत गर्ने भएकाले इलेक्ट्रिक इञ्जिनियर भएको हुँ । मलाई इञ्जिनियर भनेर प्रमाणपत्र नै दिएका छन् । सशस्त्रबाट रिटायर्ड भएपछि अहिले रेडियोटिभी मर्मत गर्ने पसल सञ्चालन गरेको छु । म जनयुद्धको घाइते पनि हुँ । प्युठानमा मलाई गोली लागेको थियो ।

अनि फुर्‍यो हेलिकप्टरबाट बिउ छर्ने आइडिया

म सशस्त्रमा हुँदा हाम्रा साथीहरू शान्ति मिसनमा कंगो गएका थिए । मचाहिँ जान पाइनँ । साथीहरूले सुनाएअनुसार कंगोमा अवस्था विकराल छ । कहीँ बोटविरुवा समेत छैन ।

एकजना सईसा'पले भन्नुभयो– खडकजी, बोटबिरुवा रोप्नका लागि त्यहाँ (कंगोमा) त बर्खामा हेलिकप्टरबाट बिउ छर्ने रहेछन् ।

अहिले हाम्रो नेपालमा पनि त्यस्तै अवस्था आउन लागेको छ । जताततै डोजर चलाएर बाटो खनेका छन् । डाँडाकाँडा जहाँ हेर्‍यो पहिरो गएको जस्तो छ । त्यही भएर मैले बर्खामा हेलिकप्टरबाट रूख बिरुवाको बिउ छर्न सकियो भने हाम्रो ठाउँलाई पनि हराभरा बनाउन सकिन्थ्यो कि भनेर यो अवधारणा ल्याएको हुँ ।

'मुकुन्द घिमिरेको चोर्‍या हैन'

सरले मुकुन्द घिमिरेको कुरा गर्नुभयो, तर मैले त्यो मान्छेलाई चिन्दिनँ । सामान्य मोबाइल बोकेको छु । खासै चलाउँदिन पनि । मैले उसको एजेन्डा चोरेको हैन ।

(मुकुन्द घिमिरेले हेलिकप्टरबाट बिउ छर्ने आफ्नो भिजन चोरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।)

मैले ३६५ दिन नै दशैँ मनाउने व्यवस्था गर्ने भनेर गरीब जनतालाई ऋणतापविना ढुक्कसँग बस्न पाउने व्यवस्था गर्छु भनेको हो । कुनै चिन्ता भएन भने ३६५ दिन नै दशैँबराबर भयो नि, हैन र ?​

वस्तुभाउलाई अस्पतालमा सुत्केरी गराउने भिजन!

मान्छे त चेतनशील प्राणी हो । उसले आफूलाई केही हुँदा भन्न सक्छ । हामीले दूधका लागि गाईभैँसी पालेका छौं । उसले आफूलाई केही भयो भने भन्न पनि सक्दैन । बिरामी भयो भने यत्तिकै मरेर खोलामा फाल्नुपर्ने अवस्थामा छ ।

मलाई जनताले विश्वास गरेर जिताउनुभयो भने प्रत्येक वडामा एकजना भेटेरिनरी डाक्टरसहित पशु अस्पतालको व्यवस्था गर्छु । त्यहीँ पशुवस्तुलाई सुत्केरी गराउने व्यवस्था गर्छु भनेको हो ।​

सुख्खा बन्दरगाहमा पानी जहाज!

हाम्रो डडेल्धुरा र भारतको उत्तराञ्चलको सीमामा गैरीबुगड भन्ने ठाउँ छ । हाम्रो पालिकाको घाट पनि त्यहीँ हो । मान्छे मर्दा त्यही लैजाने गरिएको छ ।

सर नारायणगढ जानुभएको होला, त्यहाँजस्तै सम्म ठाउँ छ गैरीबुगडमा । त्यहाँ सुख्खा बन्दरगाह  (बन्दरगाह) बन्न सक्छ । त्यहाँबाट मिनी पानीजहाज चलाउन सकियो भने आधा घण्टामा डडेल्धुराको परशुराम पुग्न सकिन्छ ।​​

केन्द्रले नसकेको पानीजहाज गाउँपालिकाले कसरी चलाउने ?

भारत सरकार मित्रबाट मागौंला नि ! उत्तराञ्चलतर्फ सिमानासँग जोडिएको तामेली गाउँपञ्चायत भन्ने छ । मलाई जनताले विश्वास गरेर जिताउनुभयो भने त्यहाँको अध्यक्षसँग पनि सम्बन्ध बनाउँछु । उतैबाट मागेर पानीजहाज चलाउने सोचेको छु ।​

'केहीले मजाकमा उडाए,जनता एकदमै खुशी छन्'

गरीब मान्छे सर, सादा पेपरमा १५ सय घोषणा पत्र छापेको थिएँ, हजारवटा बाँडिसकें । केहीले मजाक उडाए पनि मेरो भिजनबाट जनता एकदमै खुशी भएका छन् । मैले केबलकार चलाउने कुरा पनि गरेको छु । म अहिले जुन ठाउँमा छु, त्यहाँबाट ३ किलोमिटरमाथि टप्वा भन्ने ठाउँ छ । त्यहाँ साल र सल्लाका रूखहरू तथा होटलहरू छन् । त्यहाँबाट पारि डाँडामा भागेश्वर मन्दिर छ । यी डाँडाहरूमा पुग्न केबलकार चलाउने भनेको छु ।

मलाई यहाँ जनताहरूले भनिरहनुभएको छ, तपाईंले धेरै राम्रो भिजन ल्याउनुभयो । अहिलेसम्म कति प्रधानपञ्च आए, कसैले पनि यस्तो भिजन ल्याउन सकेका थिएनन् । १५/२० करोडमा केबलकार चल्ने रहेछ । अगाडि बढ्नुस् भन्नुभएको छ ।​

बालुवाटारबाट पनि फोन!

मलाई हिजो बालुवाटारबाट भानु देउवा (प्रधानमन्त्रीको स्वकीय सचिव)ले फोन गरेका थिए । ठीक छ, तिमी पनि हाम्रै मान्छे हो भन्नुभएको छ अंकल (प्रधानमन्त्री शेरबहादुर देउवा) ले भने । अंकल खुशी भा'छन् पनि भने । फोनमा धेरै कुरा बुझिएन । अंकलसँग कुरा गराउँछु भनेका थिए, तर अहिलेसम्म फेरि फोन आएको छैन ।​

चुनावी हिसाबकिताब

भागेश्वरमा साढे ७ हजार मतदाता छन् । त्यो सबै मत खस्दैन । ७ वटा पार्टीले उम्मेदवारी दिएका छन् । १२ देखि १४ सयसम्म मत ल्याउनेले जित्ने अवस्था छ ।

हाम्रो यहाँ ठकुराठीकै १२/१४ सय भोट छ । त्यसैले मैले 'हरहर ठकुराठी, घरघर ठकुराठी' भनेर नारा बनाएको हुँ ।

ठकुराठीको मत मात्रै पाए पनि जित्ने अवस्था छ । एकलौटी मत त के पाइएला  र ? मेरो एकजना अंकल (विष्णु ठकुराठी) पनि स्वतन्त्र उठेका छन् । अघिल्लोपटक एमालेबाट उठेर हारे । अहिले टिकट नपाएपछि स्वतन्त्र उठेका हुन् ।

हाम्रो यहाँ बलियो त कांग्रेस नै हो । एमाले फुट्या छ । राप्रपा पनि अहिले राम्रो भएर आएको छ । हेरौं, जनताले कत्तिको विश्वास गर्नुहुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्