चैत १४, २०७९
अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो १ दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपह...
सर्लाही | बैशाख २०, २०७९
भुइँ (स्थानीय) तहको जनप्रतिनिधि छान्नका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाताहरू अन्योलमा छन् । पाँच वर्षमा स्थानीय तहका जनप्रतिनिधिको हर्कतले हैरान मतदाता अब कस्तो जनप्रतिनिधि छान्दा धोका खाइँदैन भन्ने निर्क्यौल गर्ने क्रममा छन् । जनप्रतिनिधि पनि मतदाताको विश्वास जित्न भगीरथ प्रयत्नमा छन् ।
तर यी सबै चुनावी रस्साकस्सीबाट अलग छ, सर्लाहीको बागमती नगरपालिका ।
अन्य स्थानीय तहमा जस्तै यहाँ पनि चुनावी प्रक्रियाका काम निरन्तर चलिरहेका छन् । तर अधिकांश मतदाता आफ्नो आगामी जनप्रतिनिधि को हो भन्नेमा स्पष्ट छन् । यहाँको निर्वाचन जनप्रतिनिधिको कार्यकाल नवीकरणको सामान्य प्रशासनिक प्रक्रिया मात्रै बनेको छ ।
सर्लाहीको बाग्मती नदीको किनारमा पूर्वपश्चिम राजमार्गको दायाँबायाँ फैलिएर रहेको बागमती नगरपालिकाले जनप्रतिनिधि जनताप्रति उत्तरदायी र समृद्धिको संवाहक बन्दा छोटो समयमै कसरी प्रगति हासिल गर्न सकिन्छ भन्ने बलियो उदाहरण स्थापित गरेको छ ।
२०७४ को तेस्रो चरणको निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए– भरत थापा । त्यसअघि दुईपटक संविधानसभा चुनाव हारेका उनलाई पार्टीले मेयरको टिकट दियो । थापा चुनावमा होमिए ।
दुईपटक विश्वास नगरेको भए पनि स्थानीय निर्वाचनमा उनका कुरालाई मतदाताले पत्याइदिए र भोट दिए । थापाले मेयरको कुर्सीबाट स्थानीय तहको स्टेरिङ समातेपछि शुरू भयो बागमतीको समृद्धि यात्रा ।
अहिले उक्त नगरपालिकाभित्र कालोपत्रे नभएका प्रायः कुनै पनि सडक छैनन् । सरकारी विद्यालयमा विद्यार्थीको ओभरफ्लो छ । निजी विद्यालयहरू क्रमशः बन्द हुन थालेका छन् । नगरपालिकालाई दीर्घकालीन आर्थिक स्रोत सुनिश्चित गर्ने गेमचेन्जर पूर्वाधार परियोजना सम्पन्न हुने क्रममा छन् । सुकुम्बासी समस्या विवादरहित रूपमा समाधान भएको छ । जनताले साढे चार वर्षकै अवधिमा विकास र समृद्धि के हो आँखैअगाडि महसूस गर्न पाएका छन् ।
बागमती नगरपालिका वडा नम्बर ५ का मतदाता रहेका ओमबहादुर कार्की भन्छन्, ‘हाम्रो लागि कालोपत्रे सडक असाध्यै ठूलो कुरा लाग्थ्यो । तर अहिले कालोपत्र नभएको पनि सडक हुन्छ र भनेजस्तो लाग्छ । नगरपालिकाभित्रका सडकहरू घुँडासम्म हिलो आउने अवस्थामा थिए । अहिले कहीँकतै हिलो देखिँदैन ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेल भन्छन्, ‘नगरपालिकाभित्रको ९० प्रतिशत बाटो पिच भएको छ । हामीले काम शुरू गर्दा कुनै पनि बाटो कालोपत्रे थिएन । अहिले चुनाव नभएको भए बाँकी १० प्रतिशत बाटो पनि यही आर्थिक वर्षभित्र पिच भइसक्थ्यो ।’ यसअवधिमा करीब १५० किलोमिटर बाटो पिच भएको पोखरेलले बताए ।
शिक्षामा क्रान्ति
बागमती नगरपालिकामा प्राथमिकदेखि माध्यमिक तहमा २५ वटा विद्यालय छन् । स्थानीय तहको पहिलो निर्वाचन हुने बेलासम्म नगरपालिकामा निजी विद्यालयको हालीमुहाली थियो । अभिभावकहरू सरकारी विद्यालयमा विद्यार्थी भर्ना गराउन चाहँदैनथे । तर, अहिले अवस्था उल्टिएको छ । सरकारी विद्यालयले विद्यार्थीको चाप धान्न सकेको छैन ।
‘हामीले काम शुरू गर्ने बेलामा सरकारी विद्यालयमा करीब २५ सय जति विद्यार्थी थिए । विद्यालय समुदायभन्दा टाढा थियो । समाज बिगार्नुपर्यो भने शिक्षा बिगारे पुग्छ । सुधार्न पनि शिक्षा नै सुधार गर्नुपर्छ भन्ने ज्ञान थियो । हामीले त्यही गरेका हौं । अहिले १३ हजार विद्यार्थी सरकारी विद्यालयमा छन्’, निवर्तमान मेयर थापाले भने ।
‘१० बजे विद्यार्थी आएको आएकै अनि ११ बजेपछि गएको गएकै हुने अवस्था थियो । अहिले छिमेकी स्थानीय तहका विद्यार्थी पनि यहाँका सरकारी स्कूलमा अध्ययन गर्न आइरहेका छन्’, विमल पोखरेलले भने ।
शिक्षाको सुधारमा अहोरात्र काम गरेको र अहिले त्यसको सफलताले सन्तुष्टि मिलेको निवर्तमान मेयर भरत थापा बताउँछन् ।
सरकारी विद्यालयको अवस्था सुधारको लागि शुरूमा नगरपालिकाले व्यवस्थापन बलियो बनायो । शिक्षकलाई तालिम दियो । योजनाको आधारमा व्यवस्थापन समितिको अध्यक्ष र विद्यालयको प्रधानाध्यापक नियुक्त गर्ने विधि अपनायो र उनीहरूसँग कार्यसम्पादन करार गर्यो । जनप्रतिनिधिका छोराछोरी निजी विद्यालयमा पढाउन नपाउने नियम बनाइयो ।
‘सार्वजनिक कार्यक्रम गरेर नै जनप्रतिनिधिलाई छोराछोरी निजी विद्यालयमा नपढाउने शपथ गराएका हौं । उनीहरूले नै ल्याएको योजनाको आधारमा जिम्मेवारी दियौं । जिम्मेवारी दिँदा कुन पार्टीको भनेर हेरेनौं’, थापाले भने ।
अहिले विभिन्न सूचकको आधारमा नगरपालिकाले स्कूलको मूल्यांकन गर्छ । उत्कृष्ट हुने तीन स्कूललाई वार्षिक पाँचदेखि १० लाखसम्म पुरस्कार दिने व्यवस्था गरिएको छ ।
हरेक वर्ष एउटा स्कूलले एक किलोमिटर सडकको दायाँबायाँ वृक्षरोपण गरेर बिरुवा हुर्काएको हुनुपर्छ । विद्यार्थीको सिकाइ हुने गरी फोहोर व्यवस्थापनको काम भएको हुनुपर्छ । महिनामा एकपटक अभिभावक भेला गरेर विद्यालयको सुधारबारे छलफल गरेर निर्णय गरेको हुनुपर्छ । विद्यालयको मूल्यांकनका लागि यस्ता १० सूचक तोकिएको पोखरेलले बताए ।
नगरपालिकाले तीनवटा प्राविधिक धारमा विद्यालय सञ्चालन गरेको छ । त्यहाँ कृषि, पशुपालन र सिभिल इन्जिनियरिङको पढाइ हुन्छ ।
गेमचेन्जर पूर्वाधार योजना
अहिले सामाजिक सञ्जालमा एउटा तालको बारेमा खुबै चर्चा हुने गरेको छ । त्यो हो ‘भरत ताल’ । हुन त यो मानवनिर्मित पोखरीको आधिकारिक नाम हो ‘बागमती फिशरी पोन्ड’ । स्थानीय जनताले यसलाई भरत ताल भनेर नाम दिए । अहिले सोही नामले त्यो पोखरीको व्यापक चर्चा छ ।
बागमती नदीको उकास जमिनमा विशाल पोखरी बनाइएको छ । बागमती नगरपालिकाको यो गेमचेन्जर परियोजना हो । १२१ बिगाहामा फैलिएको यो ताल निर्माणको ८० प्रतिशत काम सकिएको छ । अहिलेसम्म नगरपालिकाले करीब ६० करोड रुपैयाँ उक्त ताल निर्माणमा लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।
निर्माण सम्पन्न नहुँदै तालबाट नगरपालिकाले आम्दानी लिन थालिसकेको छ । ‘ताल निर्माणको काम सकिएको छैन । तर, हामीले त्यसबाट आम्दानी लिन थालिसक्यौं । नगरपालिकाले मासिक १५ लाख रुपैयाँ आम्दानी लिन थालिसकेको छ’, पोखरेलले भने, ‘निर्माण भएर सञ्चालनमा आउँदा वार्षिक १० करोड रुपैयाँ आम्दानी हुनेछ ।’
यो ताल निर्माणका लागि ८० प्रतिशत लगानी प्रदेश सरकारबाट ल्याइएको पोखरेलले बताए । ताल निर्माणको क्रममा एकै दिनमा करीब पाँच सय जनासम्मले काम गरेको स्थानीयहरू बताउँछन् । यसले नगरपालिकाभरका मानिसलाई रोजगारी दिएको उनीहरूको भनाइ छ ।
ताल बनाउने क्रममा निस्किएका कतिपय गिट्टी बालुवा नगरपालिकाले टेन्डर लगाएर बिक्री गरेको छ भने कतिपय अझै भण्डारण गरेर राखिएको छ ।
रणनीतिक योजनासहित बनाइएको तालको बीचमा स्टार होटल बनिरहेको छ । तालको वरिपरि मोनोरेल चलाउन अध्ययन सम्पन्न भएको छ । अहिले नै तालमा ३७ वटा स्टिमर सञ्चालनमा छन् । ताल हेर्न आउने मानिसको घुइँचो अहिले नै थामिनसक्नुको छ । तालमा माछापालन गर्ने र त्यसबाट आर्थिक उपार्जन गर्ने नगरपालिकाको योजना छ ।
उक्त ताल यस्तो ठाउँमा बनाइएको छ जसको नजिकै धनुषाको कुर्थाबाट वीरगञ्जसम्म जाने रेलको लिग बिछ्याउनका लागि बाटो बनाइएको छ । रेल सञ्चालनमा आएपछि थामिनसक्नु पर्यटक त्यही रेलले ल्याइदिने नगरपालिकाले आकलन गरेको छ ।
ताल, पूर्व पश्चिम राजमार्ग र रेललाई लक्षित गरेर नगरपालिकाले अर्को योजनामा गृहकार्य गरिरहेको छ, त्यो हो रोडसाइड स्टेशन । करीब १२ बिगाहा जग्गामा बन्ने यो स्टेशन पूर्ण मनोरञ्जन सुविधासहितको व्यापारिक कम्प्लेक्स हुनेछ ।
‘पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीचालक तथा यात्रुलाई आराम गराउने, रेलमा आएका मानिसका लागि शपिङ सेन्टर बनाउने र स्थानीय उत्पादनलाई त्यहाँबाट बिक्रीवितरण गराउने योजनासहित रोडसाइड स्टेशनको प्रस्ताव गरेका छौं’, निवर्तमान मेयर थापाले भने, ‘स्थानीय उत्पादनको बजारीकरण त्यहाँबाट गर्ने योजना छ । जनताले गरेको उत्पादनको बजारको जिम्मा नगरपालिकाले लिन्छ । यहाँ अर्गानिक स्थानीय उत्पादन पाइन्छ भनेपछि हाइवेका यात्रु पनि यहाँको बजारमा आउनेछन् ।’ यसमा डेढ अर्ब लगानी गर्ने नगरपालिकाको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।
नगरपालिकाले अर्को रणनीतिक पूर्वाधार योजनाको रूपमा फनपार्क र रिजोर्ट बनाइरहेको छ । बाग्मती नदीकै किनारमा ५ बिगाहा जमिनमा बनिरहेको फनपार्कको ८० प्रतिशत काम सम्पन्न भएको छ । त्यसमा ६० करोड रुपैयाँ लगानी रहेको पोखरेलले बताए । फनपार्कभित्रै स्टार होटल, स्विमिङ पुल, कन्फ्रेन्स हल लगायतका पूर्वाधार बनिरहेका छन् । नगरपालिकाको लागि यो अर्को स्थायी आम्दानीको स्रोत हो ।
नगरपालिकाले फलफूलबाट स्रोत जुटाउने उद्देश्यले नगर बगैंचा बनाएको छ । उक्त बगैँचाका लागि १५० बिगाहा क्षेत्रफलमा ३० हजार आँपका बिरुवा रोपिएका छन् । धमाधम हुर्किरहेका आँपको यस बगैँचाबाट नगरपालिकाले वार्षिक ३ देखि ५ करोड आम्दानी लिने योजना बनाएको पोखरेलले बताए ।
सुकुम्बासीलाई सन्तुष्टि
बागमती नगरपालिकामा रहेका करीब ६ हजार सुकुम्बासीको प्रभावकारी व्यवस्थापन नगरपालिकाले गरेको छ । सागरनाथ वन परियोजनाको क्षेत्रमा बसिरहेका सुकुम्बासीलाई नगरपालिकाको पहलमा व्यवस्थित बसोबास गराइएको हो ।
बाग्मती नदीको उकास जमिन उनीहरूलाई उपलब्ध गराइएको छ । नगरपालिकाले नदी उकास जमिनमा सुकुम्बासीलाई १७ धुर घडेरी र ५ कट्ठा जोत्ने जमिन दिएको छ । नगरपालिकाभित्र तीन ठाउँमा व्यवस्थित गरिएको सुकुम्बासी बस्तीभित्रका हरेक घरमा २० फिटको बाटो पुर्याइएको छ ।
‘तीन ठाउँमा गरेर करीब ६ हजार सुकुम्बासी परिवारको व्यवस्थापन भएको छ । उनीहरूले पाएको जग्गाको धनीपूर्जाको लागि भूमि व्यवस्था आयोगको विधिअनुसार काम भइरहेको छ’, नगरपालिकाको एक कर्मचारीले बताए । नगरपालिकाले सुकुम्बासी बस्तीका लागि विद्यालय स्थानान्तरण गरेर लगिदिएको छ ।
भिजनरी मेयर र नगरपालिकाको आत्मनिर्भर यात्रा
नगरपालिकालाई आन्तरिक स्रोतमा नै आत्मनिर्भर बनाउन आधारभूत पूर्वाधार तयार हुने क्रममा देखिन्छन् । निर्माण सम्पन्न हुने क्रममा रहेको केही पूर्वाधार आयोजनाले नै नगरपालिकाको समृद्धिको सपना साकार बनाउने अवस्था छ ।
‘नगरको आन्तरिक आम्दानीबाटै गाउँलाई शहर र गरीबलाई धनी बनाउन सकिन्छ’, निवर्तमान मेयर थापा भन्छन्, ‘पूरै नगरपालिका एउटै वडा हो भन्ने अवधारणामा काम गर्यौं । खेर गइरहेको जमिनको अधिकतम उपयोगको योजना बनायौं । अब हामी क्रमशः आत्मनिर्भरताको यात्रामा छौं ।’
थापाले कार्यकाल शुरू गर्दा नै आफूले तलब सुविधा नलिने घोषणा गरेका थिए । अन्य जनप्रतिनिधिलाई पनि सुविधा लिन उनले दिएनन् । नगरपालिकामा जन्म, विवाह र मृत्युको दर्ता गर्न जनता तयार नै नहुने अवस्था थियो । थापाले आफ्नो छोरीको कुममा छोएर शपथ ग्रहण गर्दै घोषणा गरे, ‘समयमै छोरीको जन्मदर्ता गर्दा ५ हजार र छोराको जन्मदर्ता गर्दा ३ हजार रुपैयाँ नगरपालिकाले दिन्छ ।’
त्यससँगै उनले बच्चाको नियमित स्वास्थ्य जाँच गरेको हुनुपर्ने प्रावधान तोकिदिए । अहिले नगरपालिकामा पञ्जीकरणको कुनै समस्या नरहेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । लामो समय विवाह दर्ता नगरेर बहुविवाह गर्ने समस्या पनि यसले समाधान गरेको उनले बताए । ‘बच्चाको दर्ता गर्दा विवाह दर्ता पनि गर्नुपर्यो । यसले बहुविवाहलाई निरुत्साहन गर्यो’, उनले भने ।
राजनीतिलाई व्यवसायीकरण नगरी जनताको सेवामा नै केन्द्रित गर्दा स्थानीय तहले समृद्धिको नेतृत्व गर्न सक्ने उनको दाबी छ ।
विकाससँग जनतालाई जोडेर अघि बढेको हुनाले नगरपालिकाले बनाएको योजना सजिलोसँग अघि बढिरहेको उनी बताउँछन् ।
‘नगरपालिका जिम्मा लिँदा सालनाल सहितको बच्चा जस्तो जिम्मा लिएका थियौं । अहिले हामी त्यही बच्चालाई हुर्काउने क्रममा छौं,’ थापाले भने ।
जनप्रतिनिधिले जनतालाई मालिक सम्झिने र उनीहरूको समस्या ध्यान दिने हो भने सबै स्थानीय तह सफल हुने उनले बताए ।
नगरको प्रमुख नै नगरको मस्तिष्क (ब्रेन) भएकाले उसैले सबैलाई प्रभावकारी रूपमा परिचालन गर्न सक्नुपर्ने थापा बताउँछन् । ‘नगरको ब्रेन भनेकै प्रमुख हो । अरू प्रतिनिधिहरू शरीरका अंग हुन् । ब्रेन ठिक छैन भने अंग चल्दैन । कतिपय स्थानीय तहमा बहुमत पुगेन र काम गर्न सकिएन भन्छन् । त्यो भनेको अक्षमता लुकाउने बहाना मात्र हो’, थापाले भने ।
नगरपालिकाभित्रको समुन्नतिका उदाहरण प्रत्यक्ष हेरेपछि हामीले नगरप्रमुखलाई भेटेका थियौं । त्यसबेला उनलाई सोध्यौं, ‘तपाईंले संविधानसभाको चुनाव हार्नु र मेयरको चुनाव जित्नु बागमती नगरपालिकाको जनताको लागि अवसर भएछ । तपाईं चाहिँ कत्तिको सन्तुन्ष्ट हुनुहुन्छ ?’
उनले एक वाक्यमा जवाफ दिए, ‘त्यतिखेर स्थानीय तह थिएन, काम गर्नका लागि केन्द्रमै निर्भर हुनुपर्दथ्यो । त्यसबेला मैले चुनाव हारेको थिइनँ । जनताले हारेका थिए । त्यसले गर्दा उनीहरू नै पाँच वर्ष पछि परे ।’
बागमती नगरपालिकाका निर्माणाधीन तथा प्रस्तावित 'गेम चेन्जर' आयोजनाहरूको 'थ्रीडी' भिडियो :
सन्तुष्ट मतदाता
बागमती नगरपालिकाका मतदाताको घरआँगनमा लोकान्तरकर्मीहरू पुग्दा जनप्रतिनिधिप्रति उनीहरू सन्तुष्ट पाइए । मेयरप्रति उनीहरूको श्रद्धाभाव थियो ।
उक्त नगरपालिकाको वडा नम्बर ११ निवासी बलराम लामा भन्छन्, ‘मेयरले घरघरमा पिच बाटो पुर्याइदिनुभएको छ । शिक्षा र स्वास्थ्यमा राम्रो सुधार गर्नुभएको छ । सबैको दुःखसुखमा साथ दिन घर घरमा पुग्नुहुन्छ । सबै जनताले उहाँलाई राम्रो मान्छन् ।’
गाउँ टोलमा थापालाई केही वर्ष माथिल्लो तहमा जान नदिएर गाउँमै राख्नुपर्ने बारेमा छलफल हुने गरेको लामाले बताए ।
उक्त नगरपालिकाका अर्का मतदाता कृष्ण रखाल मगर भन्छन्, ‘भरत थापाले चुनाव जित्दा हाम्रो भाग्य फेरियो । जसले उनलाई मत दिएनन्, उनीहरू विकासविरोधी जस्तो देखिए ।’
तर, विपक्षी दलहरूले भने थापालाई आरोप लगाउन छाडेका छैनन् । उनीहरूको एउटै आरोप रहेछ, थापाले विभिन्न परियोजना बनाउने नाममा गिट्टी र बालुवा बेचे । ‘केही केहीले कुरा काट्छन् तर खुलेर कोही उनको (थापा) विरोधमा बोल्दैनन् । राम्रो काम गर्नेलाई खुट्टा तान्ने प्रयास त जहाँ पनि हुन्छ’, मगरले भने ।
निवर्तमान मेयर थापा भने जनता आफ्नो बारेमा मूल्यांकन गर्न स्वतन्त्र रहेको बताउँछन् । ‘मेरो जिम्मेवारी र भूमिका के हो भन्ने कुरामा स्पष्ट छु । मैले गरेको काम राम्रो भए राम्रो भन्दिए भयो । नराम्रो गरेको भए त्यो पनि खुलेर भन्दिए हुन्छ ।’
थापाले आगामी निर्वाचनका लागि पनि नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दर्ता गरेका छन् । अहिले शुरू गरेका कतिपय कामलाई आगामी कार्यकालमा सम्पन्न गर्ने उनको योजना छ । तर, चुनाव प्रचारमा उनको कुनै तामझाम छैन ।
घरदैलो अभियानमा जाने प्रस्ताव गरेका एक कार्यकर्तालाई थापाले भनेका थिए रे, ‘चार वर्षदेखि म जनताकै घरदैलोमा छु । फेरि पनि मलाई नै भोट दिनुहोस् भनेर घरदैलो गर्नुपर्यो भने मेरो के काम भयो र ?’
उनी अहिले पनि जनताकै बीचमा छन् । तर चुनावी प्रचारमा खटिएका छैनन् । उनका लागि निर्वाचन केवल जनप्रतिनिधिको कार्यकाल नवीकरणको सामान्य औपचारिक प्रक्रिया मात्रै हो ।
बरू फुर्सदको समय उनले छिमेकी स्थानीय तहमा आफ्नो पार्टीका प्रतिनिधि जिताउन समय दिएका छन् । अनि यसपालि बागमती नगरपालिकाका १२ वटै वडामा आफ्नो पार्टीले जित्नेमा उनी ढुक्क छन् ।
अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो १ दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपह...
आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् । सीपय...
पालतो शरीर, आकाशे रंगको निलो सर्ट, कालो जिन्स पाइन्ट अनि खुट्टामा सामान्य चप्पल । जाडो सकिएर तराईमा गर्मी उकालो चढ्दै थियो । कपिलवस्तुको पुरातात्विक तिलौराकोट क्षेत्रभित्र उभिएर त्यहाँको महत्त्वबारे जानका...
अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्वपश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जंगली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय ...
प्रदलेशसभाम सदस्यहरूका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी एक दिने कार्यक्रमको आयोजना विराटनगरको बिग होटलमा एक गैरसरकारी संस्थाले गरेको थियो । दिउँसो २ बजेदेखि होटलमा कार्यक्रम...
रूपन्देहीको सैनामैनाकी रेखा राना मगरले आफ्नो जीवन सामान्य अवस्थामा फर्किने आशा मारिसकेकी थिइन् । १० वर्षकै उमेरमा दुवै कानले एक्कासी सुन्न छाडेपछि रानाले ठानेकी थिइन्, ‘समय, जीवन र रंगीन दुनियाँ सबै गु...
यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...