
बुटवल उपमहानगरपालिकामा पाँचदलीय सत्ता गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ ।
बुटवलमा बुधवार पत्रकार सम्मेलन गर्दै गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको हो ।
संकल्पपत्रमा कर छुटदेखि बुटवललाई महानगर बनाउन पहल थालिनेसम्म उल्लेख छ ।
घर बहाल कर, ईरिक्सा कर, हाटबजारको बैठकी कर घटाउनेदेखि बुटवलसँग जोडिएका तिलोत्तमा, सैनामैना, शुद्धोधन, देवदह र सिद्धार्थनगरलाई समेटेर महानगर बनाउने उल्लेख छ ।
त्यस्तै नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको शिवपुरसम्मलाई जोडेर मेगासिटी बनाउन सम्भाव्यता अध्ययन गरिने संकल्पपत्रमा उल्लेख छ ।
गठबन्धनबाट मेयरमा उम्मेदवार खेलराज पाण्डेले संकल्पपत्रमा उल्लेख गरिएका सबै कुराहरू कार्यान्वनमा लैजाने दाबी गरे । त्यस्तै उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङले बुटवलको विकासको लागि गठबन्धनलाई जित्नुपर्ने बताए ।
पाँच दलले देशविदेशमा रहेका बुटवलका बुद्धिजीवी र व्यावसायिक व्यक्तिहरूलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्न सक्ने बनाउनका लागि अनुसन्धानविद्हरू समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन् ।
यस्तै सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ ।
यस्तै संकल्पपत्रमा भनिएको छ, ‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरूका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था मिलाइने छ । स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधि उपलब्ध गराइने छ । बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।’
यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ ।