नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरूमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर उद्योग चलाउनु परेकाले नेपाली उद्योगमा नेपाली श्रमिकलाई स्वरोजगार बनाउनु श्रमिकलाई तालिमको आवश्यकता भएको बताए ।
अध्यक्ष गोल्यानले सरकारले गार्मेन्टसम्बन्धी तालिमको राज्यले व्यवस्था गरेमा उद्योगहरूलाई नेपाली श्रमिक सस्तो र दिगो हुने अध्यक्ष गोल्यानको भनाइ छ ।
उनले सरकारले नेपालमा उत्पादित बस्तु निर्यातको लागि हवाइ भाडामा सहुलियत तथा एयर कार्गो सेवा सञ्चालन ल्याउन आग्रह गरे ।
सरकारले एयर कार्गो सेवा सञ्चालन गरेर अमेरिकामा नेपाली गार्मेन्टमा उत्पादन भएका बस्तु निर्यात गर्न सके नेपाली गार्मेन्ट उद्योगको ठूलो विकास हुन सक्ने गोल्यानले बताए । अध्यक्ष गोल्यानले पछिल्लो समय अमेरिकासँगको सम्बन्ध राम्रो भएकाले नेपालबाट अमेरिका निर्यात हुने बस्तुको डिउटी निशुल्क बनाउन पहल गर्नु माग गरे ।
सरकारले निर्यातजन्य वस्तुमा निर्यात गर्दा अनुदानको व्यवस्था गर्नु पर्ने भन्दै अध्यक्ष गोल्यानले सरकारी अनुदान विना अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो हुने बताए । उनले नेपालका साना निर्यात उद्योगहरूले निर्यात गर्न नसक्ने भएकाले सरकारले निर्यात हाउस स्थापना गर्नु पर्ने आवश्यकता रहेको बताए ।
उनले भने,‘ सरकारले नेपालको गार्मेन्टलाई अमेरिकामा डिउटी निशुल्क एक्सेसमा आउनको लागि पहल गरिनु पर्छ । सरकारले तबसम्म पहल गर्दैन गार्मेन्ट उद्योगलाई अनुदान चाहिन्छ । सरकारको अनुदान विना अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । पहिला अललिमिटेड थियो । अहिले २० करोडको मात्रै निर्यात रिफाइनान्सिङ हुन्छ । त्यो पनि ६/६ महिनाको लागि मात्रै हुन्छ । सरकारले निर्यात हाउस बनाउनु पर्छ । निर्यात हाउस भयो भने नेपालका मौलिक उत्पादन, साना उद्योगहरूले पनि निर्यात गर्न खोज्दा आफैले गर्न नसकेको भएकाले यो निर्यात हाउस बनाउनु जरुरी छ ।’
अध्यक्ष गोल्यानले नेपालमा पाइने मौलिक वस्तुहरू उत्पादनको लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।
उनले नेपालका निर्यातजन्य उद्योगहरूले पनि मौलिक उत्पादनमा जोड दिन आग्रह गरे । नेपालको गार्मेन्ट उद्योगले मात्रै नेपालमा २ लाख मानिसहरूलाई रोजगारी र ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने तर सरकारले नीतिगत व्यवस्था गर्नु पर्ने अध्यक्ष गोल्यानले बताए । नेपालमा ६ खर्बको कपडा खपत हुने भए पनि १ खर्ब नेपाली उत्पादन रहेको बाँकी चोरबाटो मार्फत आउने गरेको बताए ।
त्यस्तै, पूर्व वाणिज्य सचिव चन्द्र घिमिरेले नेपालमा पछिल्लो समय व्यापार घाटा बढ्दै गएकाले मुलुक आर्थिक संकटतिर गएको बताए । उनले मन्त्रालयको सचिवले व्यापार घाटाको विषयमा बोल्दा विगतमा सरकारले लुकाउने गरेको बताए । पछिल्लो समय सरकार आफै निर्यातमा भन्दा पनि आयातमा बढी जोड दिएकाले अहिले समस्या आएको उनको भनाइ छ । सरकार आफै निर्यात भन्दा पनि आयातलाई प्रोत्साहन दिएर राजश्व हेरेर बस्दा अहिले व्यापार घाटा उकालो लागेको बताए ।
त्यस्तै पूर्वसचिव घिमिरेले नेपालको निर्यात भन्दा पनि आयात महँगो हुनुपर्ने बताए । उनले मुलुकमा उत्पादित बस्तु सस्तो हुनु पर्ने बताए । निर्यात सस्तो र आयात महँगो हुनको लागि राज्यका नीतिहरूले साथ दिनु पर्ने उनको भनाइ छ । घिमिरेले राज्यका कुनै पनि नीतिहरूले निर्यातजन्य बस्तुको उत्पादनमा सहयोग नगरेको बताए ।
पूर्वसचिव घिमिरेले सिंहदरबारमा एउटा सचिवले अर्को सचिवलाई , एउटा मन्त्रीले अर्को मन्त्रीलाई असफल बनाउन लागि रहेको र एउटा नीतिले अर्को नीतिलाई असफल बनाउन लागि रहेकाले समस्या भइरहेको बताए ।