
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बुटवल स्थित लुम्बिनी प्रादेशिक कार्यालय सञ्चालनमा आएको छ ।
नव निर्मित कार्यालयको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सोमवार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरे ।
कार्यालयको पूरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित र ग्राहक तथा अभिकर्ता मैत्री कार्यालय बनाइ लुम्बिनी प्रदेश स्थित सम्पुर्ण शाखा तथा उपशाखा कार्यालयहरुलाई अनुगमन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाउन यस अघिको संरचना परिवर्तन गरी तालिम हल, अभिकर्ताहरुको कार्यकक्ष, बैठक कक्ष लगायतका भौतिक पुर्वाधार थप गरिएको छ ।
प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको योगदानलाई सबैबाट कदर गर्ने वातावरण बनाउन धैरै काम गर्न बाँकी रहेको जानकारी गराउँदै यस क्षेत्रमा रहेका केही विकृति अन्त्य गर्नुपर्ने, कम्पनीहरुको पुँजीको आधार बलियो बनाउनु पर्ने, दाबी भुक्तानीलाई सहज बनाउनु पर्ने, बीमाको राष्ट्रिय नीति बनाउनु पर्ने, कर्मचारी तथा अभिकर्ताहरुको कार्य क्षमता तथा सिप विकासको लागि खर्च बढाउनु पर्ने, नियमाकीय भुमिका बढाउनु पर्ने र तिनै तहका सरकारहरुसँग समन्वय गरी बीमालाई दूरदराजमा रहेका गरिब तथा सिमान्तकृत नागरिकको पहुँचमा पुर्याउनुपर्ने विषयमा यस क्षेत्रमा लाग्ने सबैको ध्यानाकर्षण गराउँदै बीमा समितिले पनि यि सबै कार्यहरुको लागि तदारुकताका साथ कार्य गरिरहेको जानकारी गराए ।
कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले कम्पनीले सधैं सुशासन तथा सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी गराए ।
उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका अध्यक्ष नन्द किशोर शर्मा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री लगायतको उपस्थिति थियो ।