सिन्धुलीको दुधौली नगरपालिका– ११, टाँडीको धनसरी र उदयपुरको कटारी नगरपालिका–१, बेल्सोत जोड्ने कमला नदीमा निर्माणाधीन यान्त्रिक पुल १२ वर्षदेखि अलपत्र अवस्थामा छ ।
निर्माण सामग्रीमा मूल्य वृद्धि भएका कारण देखाउँदै उक्त पुल निर्माणको अन्तिम चरणमा अलपत्र अवस्थामा राखिएको छ ।
स्थानीयका अनुसार धनसरीलाई पर्यटकीय क्षेत्र बनाउने मुख्य उद्देश्यसहित १८ महिनामा सक्ने गरी २०६६ साल कात्तिकदेखि पुल निर्माण सुरु गरिएको थियो ।
करिब ७० लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको उक्त पुल निर्माण कार्य पूरा गर्न अन्तिम चरणमा आएर करिब १० लाख रुपियाँ नपुगेर अलपत्र परेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष गुर्जबहादुर बुढाथोकीका अनुसार ६३५ मिटर उक्त पुलको लम्बाइको पुल निर्माणका लागि गरिबी निवारण कोष, तत्कालीन जिविस सिन्धुली, सम्बन्धित गाविस, संसद् विकास कोष र स्थानीय शीतली, बेल्सोत, हरियाली, नमुना सामुदायिक वन समितिबाट ७० लाख रुपियाँ बजेट जुटेको थियो ।
२०६७ साल फागुन महिनाभित्र सक्ने गरी पुल निर्माण सुरु भएको थियो । तर, बीचमा प्रतिबद्धता गरेको बजेट र पुल निर्माण सामग्री नआएर निर्माण रोकिएको उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।