
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउनु कांग्रेसका लागि आवश्यक रहेको बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओली गणतन्त्रको खिलापमा रहेकाले पनि गठबन्धन जोगाउनु परेको उनको भनाइ छ ।
कास्कीको पोखरामा आयोजित चुनावी सभालाई आइतवार सम्बोधन गर्दै देउवाले गठबन्धन जोगाउनका लागि तालमेल भएको स्थानमा इमान्दारीपूर्वक कांग्रेसले गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुपर्ने बताएका हुन् ।
‘गठबन्धन कांग्रेसका लागि आवश्यक छ, गठबन्धनलाई जिताउनु परेको छ । गठबन्धन विजय हुन जरुरी छ । ओलीको आतंकित शासनविरुद्ध बनेको हो । उनी गणतन्त्रको खिलापमा छन्,’ देउवाले भने ।
तालमेल गर्दा अन्य दलले कांग्रेसलाई धेरै ठाउँ छाडेकोले कांग्रेसले पनि इमान्दारीपूर्वक भोट हाल्नुपर्ने उनले बताए । ‘प्रचण्ड, माधवजीहरूले हामीलाई धेरै ठाउँ छाड्नु भएको छ, गठबन्धनलाई जिताउनु उहाँहरूको भन्दा हाम्रो बढी कर्तव्य हो । बढी मेहनत गरेर बढी ध्यान दिएर जिताउनु होला,’ देउवाले भने ।
देउवाले गठबन्धन कांग्रेसका लागि आवश्यक भएको सम्झेर एकजुट भएर उम्मेदवारलाई जिताउन आग्रह गरे ।