काठमाडौं ३० असार– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीभित्रको विवाद मत्थर पार्ने गरी चालेको कदमले राप्रपामा थप संकट ल्याउने देखिएको छ ।

थापाले बिहीवार ४२ केन्द्रीय सदस्य मनोनयन गरेको खुलासा भएसँगै पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले कडा प्रतिवाद गरेका छन् ।
पार्टीभित्र कुनै छलफल र परामर्श नै नगरी थापाले एकलौटी रुपमा मनोनयन गरेको भन्दै चुप लागेर नबस्ने भन्दै राणाले औपचारिक रुपमै मुख खोलिसकेका छन् ।
राणाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय तहका कुनैपनि नेताहरुसँग छलफल नै नगरी ४२ सदस्यको मनोनय गरेको भन्दै आपत्ति जनाएका हुन् । राप्रपाभित्र केहि सातायता पार्टी फुटाउने गरी असन्तुष्ट समूहले तीब्र भेला र छलफल गरीरहेको सन्दर्भमा राणाको असन्तुष्टिलाई गम्भीरताका साथ लिइएको छ ।
पार्टीभित्रको विवाद रहेको बताइएपनि कुनै नेता औपचारिक रुपमा नबोलिरहेको बेला राणाको अभिव्यक्तिसँगै राप्रपा भित्रको विवाद छताछुल्ल बनेको मात्रै छैन पार्टी गम्भीर मोडमा पुगेको विश्लेषण हुन थालिएको छ ।
मनोनयनको भित्रि पाटोगत मंसिरमा राप्रपा नेपाल र राप्रपाबीच एकता भएसँगै एकीकृत राप्रपाको अध्यक्ष बनेका थिए, थापा । थापाले सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आएपनि आफूहरुलाई पेलेर जान खोजेको असन्तुष्ट नेताहरुको भनाइ छ । पार्टीका कमल थापाको एकाधिकार चलेको भन्दै डा प्रकाशचन्द्र लोहनी अलग्गिएर नयाँ पार्टी खोलेका छन् ।
साविकको राप्रपाका नेताहरुले चुनाव चिह्न हलो हुनुपर्ने तथा पार्टीमा सबैको विचार सुनिनुपर्ने माग गरेका छन् । तर कमल थापाले न त अरुको कुरा सुने न त हलो चुनाव चिह्न नै कायम भयो । त्यहीबाट सुरु भएको राप्रपाभित्रको असन्तुष्टि अहिले विभाजनसम्मको अवस्थामा आइपुगेको हो ।
राप्रपाका असन्तुष्ट १५ सांसद पार्टी फुटाउने तयारी साथ निरन्तर छलफल गर्दै आएका छन् । दुई दिन अघि ललितपुरको एक घरमा बसेको असन्तुष्ट समूहको बैठकले कमल थापासंग बसिरहन नसकिने निश्कर्ष निकालेको स्रोतको दावी छ । सो भेलामा पूर्वराजा ज्ञानेन्द्रको प्रतिनिधिका साथै एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायतको समेत सहभागिता रहेको थियो ।
भेलाबाट ६०–४० को केन्द्रीय सदस्य पुर्याएर निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गर्नेसम्मको तयारी गरेका थिए भने सोहि योजना असफल बनाउन थापाले भित्रभित्रै आफू निकटका ४२ केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐनमा कुनै पार्टी फुटेर निर्वाचन आयोगमा गएको खण्डमा ४० प्रतिशत केन्द्रीय सदस्य या ४० प्रतिसत सांसद पुर्याउनु पर्ने व्यवस्था रहेको छ ।
राप्रपाको महाधिवशेनबाट ९८ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने महाधिवेशनलगत्तै थप १५ जना मनोनयन गरेर केन्द्रीय समिति ११३ सदस्यीय बनेको थियो । यो सँगै राप्रपामा १ सय ५५ सदस्सीय केन्द्रीय समिति बनेको छ र थापाले थप केन्द्रीय सदस्य पनि मनोनयन गर्ने तयारी गरेको बुझिएको छ ।
राप्रपाको विधानमा १६३ सदस्सीय केन्द्रीय समिति रहने व्यवस्था रहेको छ भने अब मात्र ७ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रहेको छ । यो अवस्थामा असन्तुष्टहरुलाई ४०–६० को अनुपात पुर्याएर पार्टी फुटाउन चुनौति रहेको राप्रपा संस्थापन पक्षको भनाइ छ ।
राप्रपाको असन्तुष्ट समूहका सांसदको नेतृत्व पूर्वमन्त्री रामकुमार सुव्वाले गरेका छन् । असन्तुष्ट समूहमा राज्यलक्ष्मी श्रेष्ठ, बबिता लावती मोक्तान, विराज विष्ट, रेशम लामा, रमेश तामाङ, शयन्द्र बान्तावा, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, लगायतका सांसद छन् । अन्य केही सांसद पनि भित्रभित्रै मोर्चामा संलग्न रहेको बताइएको छ ।