१६ असार २०८३, मंगलबार

हटाइए पार्टीको प्रचार गर्ने सहायक निर्वाचन अधिकृत

बैशाख २५, २०७९
हटाइए पार्टीको प्रचार गर्ने सहायक निर्वाचन अधिकृत

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौंडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचारसंहिताविपरीत काम गरेको आरोपमा सहायक निर्वाचन पदबाट हटाएको छ ।

कार्यालयका अनुसार सहायक निर्वाचन अधिकृत पुडासैनी सामाजिक सञ्जालमा कुनै एक राजनीतिक पार्टीको प्रचारप्रसारमा प्रत्यक्ष संलग्न देखिएकाले उनलाई पदबाट हटाएको बताइएको छ । उक्त पदबाट हटाइएको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको समेत बताइएको छ । 

मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयबाट हटाइएको सो पदमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत मदन शिवाकोटीलाई पठाएको जानकारी प्राप्त भएको छ । त्यसै गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहको निर्वाचन सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।

कार्यालयको बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गरी निर्वाचनका क्रममा बालबालिकाको उपयोगलाई रोक्न र सो कार्य गरेको पाइएमा आवश्यक कारवाहीका लागि सूचना दिन आग्रह गरिएको सो कार्यालयका सूचना अधिकारी सागर शर्माले बताए । 

बैठकले निर्वाचन आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्ने र गराउने निर्णय गरेको छ । - रासस

salt training

कमेन्ट गर्नुहोस्