१८ असार २०८३, बिहीबार

मनसुन आयो, नाला बनेन

बैशाख २६, २०७९
मनसुन आयो, नाला बनेन
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

काठमाडौँ बूढानीलकण्ठ–१२ स्थित सुकुम्बासी वस्ती (आनन्दटोल)का ६३ वर्षीय मङ्गल कोइराला (विश्वकर्मा)का आँखा अहिले पनि रसाइरहेका छन् । उनकी श्रीमती धनमाया विश्वकर्मा पनि नातिलाई सम्झिँदै भक्कानिन्छन् । 

२०७८ असोज ५ गते मङ्गलबारदेखि विश्वकर्मा दम्पतीको दिन र रात नरोई बितेको छैन । गत वर्ष असोज ५ गते साँझ ११ वर्षीय उज्ज्वल विश्वकर्मालाई बूढानीलकण्ठ–१२, मिलनचोकमा निर्माणाधीन नालामा आएको पानीले बगायो । 

नालामा बेपत्ता भएको पाँच दिनपछि असोज १० गते आइतबार उज्ज्वलको शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती किनारमा भेटिएको थियो । छोरो अनिल कोइराला (विश्वकर्मा) ‘सम्पर्कविहीन’ भएको तीन वर्षपछि उहाँहरूले नाति पनि गुमाउनुपरेको थियो । यस्तो समस्या गत वर्षको मात्र होइन, २०६७ देखि नै सडकका नाला निर्माण प्रक्रिया सुरु भएको हो तर ज्यानै जाने दुर्घटनामा ११ वर्षीय बालकको दुःखद निधन भयो । त्यसपछि फेरि वर्षा सुरु हुन थाल्दा पनि निर्माण सकिएको छैन ।

उज्ज्वलका हजुरबुवा मङ्गलले भने, “सडकबाटै ढल बगेको छ । मेरा नातिजस्ता धेरै बालबालिका त्यही बाटोबाट हिँड्छन् । हामीले त ठूलो चोट भोग्यौँ–भोग्यौँ, अब अरूलाई त्यस्तो नहोस् ।” उहाँका अनुसार धेरै वर्षदेखि मिलनचोकमा ‘ज्यानमारा’ सडक छ । सम्बन्धित निकायको ढिलासुस्तीले नाला निर्माणमा ढिलाइ भएको गुनासो उनले गरे।

काठमाडौँ महानगरपालिका–६ को सीमा जोडिएको मिलनचोकमा तरकारी बजार छ । बिहान–साँझ सर्वसाधारणको भीड हुन्छ तर पानी परेको दिन मिलनचोककै स्थानीयवासी र व्यवसायी पनि बाहिर निस्किन डराउँछन् । कारण सडक र नाला एउटै हुनु र त्यो पनि निर्माण नसकिनु हो । 

सडक बनाउन ठेकेदारले नाला खनेका छन् । पानी परेका बेला घरका पेटीबाट हिँड्नुपर्छ । अलिकति खुट्टा चिप्लियो भने बाँच्ने आसै हुँदैन ।

जल तथा मौसम विभागले यस वर्षको मनसुन जेठको मध्यदेखि नेपाल भित्रिने पूर्वानुमान गरेको छ । पूर्वमनुसनले नै राजधानीका विभिन्न क्षेत्र डुबाउन थालिसकेको छ । त्यसको त्रास स्थानीयवासीमा परेको छ । स्थानीय प्रभुनाथ बास्तोलाले भने, “सडक बनाउन ठेकेदारले नाला खनेका छन् । पानी परेका बेला घरका पेटीबाट हिँड्नुपर्छ । अलिकति खुट्टा चिप्लियो भने बाँच्ने आसै हुँदैन ।”

बास्तोलाका अनुसार पानी नपरेका बेला पनि स्थानीयवासीका घरबाट निस्किने पानी सिधै ढलमा आउँदा पानी जम्ने गर्छ । उनको जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने माग छ । चार वर्षमा १७ मिटर !बागमती प्रदेश सरकारअन्तर्गत खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले मिलनचोकको नाला निर्माणका लागि ठेक्का दिएको हो ।

चालू आर्थिक वर्ष २०७८/७९ का लागि काठमाडौँको थापाथलीस्थित ‘एम/एम दी सुप्रिम निर्माण सेवा प्रालि’ले मिलनचोकको ४१ मिटर नाला निर्माणका लागि ४९ लाख ११ हजार ६७२ रुपियाँको ठेक्का पाएको छ । ‘खहरेखोलामा आरसीसी स्लाब कल्भर्ट निर्माण कार्य’ नाम दिएको उक्त परियोजना २०७८ मङ्सिरमा सुरु भई २०७९ वैशाख १५ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय काठमाडौँका डिभिजन प्रमुख रिसव खनालले सम्झौताअनुसार काम सम्पन्न नभएको बताए । उनले नाला निर्माण पूरा गर्न जेठ १४ गतेसम्मको समय दिइएको बताए । प्रमुख खनालले भने , “मिलनचोकको सडक अस्तव्यस्त छ । यो कुरामा म गम्भीर छु । वर्षा शुरू हुनुअघि नै बाटो बन्नुपर्छ भन्नेमा म प्रस्ट छु । त्यसैले ठेकेदारलाई जेठ १४ गतेभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको छु ।” गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्