काठमाडौं, ३० असार –चूडामणि शर्मासहित तत्कालिन कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा बिहीवार पेश भएको आरोपपत्र शुक्रवार पनि दर्ता हुन सकेन ।
विशेष अदालतका प्रवक्त जगन्नाथ पौडेलले समय अभावका कारण शुक्रवार मुद्दा दर्ता हुन नसकेको लोकान्तरलाई बताए ।
‘बन्दी प्रत्यक्षीकरण अन्तर्गत चुडामणि शर्मालाई शुक्रवार सर्वोच्च अदातलमा उपस्थित गराइएको र सोही मामिलासँग जोडिएका कामका कारण शुक्रवार मुद्दा दर्ता हुन पाएन,’ उनले लोकान्तरसँग भने ।
शुक्रवार शर्मालाई विशेष अदालतमा उपस्थित गराइएपनि समय अभावका कारण नभ्याइएपछि उनलाई फिर्ता पठाइएको छ । प्रवक्ता पौडेलका अनुसार उक्त मुद्दा आइतवार दर्ता हुनेछ ।
तत्कालिन कर फस्र्योट आयोगमार्फत झण्डै २१ अर्ब रुपैयाँ राजश्व मिनाहा दिइएको भन्दै त्यसका एक सदस्य चूडामणि शर्मा एक महिनाभन्दा लामो समयदेखि अख्तियारको थुनामा छन् । उक्त आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकाल अझै पनि फरार छन् । उनीहरुविरुद्ध झण्डै ११ अर्र्ब रुपैयाँ बीगो मागदावी गरेर विशेष अदालतमा मुद्दा पेस भएको छ ।