माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपालकै होचो स्थान भनेर चिनिएको झापाको कचनकवललाई यसपटक स्थानीय तह चुनावले फेरि राष्ट्रिय राजनीतिको चर्चामा ल्याएको छ । कचनकवलमा भइरहेको चुनावी गठबन्धनलाई राष्ट्रिय रूपमा नै चासोका साथ हेरिएको छ ।
स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनले देशभर तालमेल गरेको छ । पाँच राजनीतिक दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफूभन्दा बाहिर तालमेल नगर्ने आचारसंहिता नै बनाएका छन् ।
गठबन्धनभन्दा बाहिर गएर बागी उम्मेदवारी हाल्नेलाई पनि केन्द्रबाटै उम्मेदवारी फिर्ता गराउने र कारवाही गर्नेसम्मको प्रयास गठबन्धन दलहरूले गरेका छन् । समग्रमा देशभरि गठबन्धन भर्सेस एमाले चुनावी मैदानमा छन् ।
तर झापाको कचनकवल गाउँपालिकामा भने रोचक चुनावी गठबन्धनका साथ चुनावी प्रतिस्पर्धा हुँदैछ । राष्ट्रिय राजनीतिमा प्रतिस्पर्धी र स्थानीय तह चुनावमा मुख्य राजनीतिक शत्रु जस्ता भएका कांग्रेस र एमालेको गजबको गठजोड कचनकवलमा छ ।
राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव नराख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विरुद्ध कांग्रेस र एमाले संगठित भएका छन् । उनीहरूलाई माओवादी केन्द्रले पनि सहयोग गरेको छ ।
गठबन्धनका तर्फबाट कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । उपाध्यक्ष एमालेको भागमा परेको छ । एमालेले नवराज भट्टराईलाई उपाध्यक्षको उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । वडाहरूमा भने तीनवटै पार्टीले आआफ्नो तर्फबाट वडाध्यक्षको उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघिकै अध्यक्ष र उपाध्यक्षलाई चुनावी मैदानमा उतारेको छ । अघिल्लो निर्वाचनमा अध्यक्ष जितेका अन्जरा आलम र उपाध्यक्ष निमसरी राजवंशी फेरि चुनावी मैदानमा आएका छन् । रोचक के छ भने राप्रपाले हिन्दूत्व र राजतन्त्रको मुद्दा उठाउँदै आएको छ । कचनकवलमा मुस्लिम समुदायका व्यक्ति राप्रपाको हिन्दूवादी नारा लिएर चुनावी मैदानमा छन् ।
अझै रोचक कुरा, २०७४ सालको चुनावमा राप्रपाका नेता राजेन्द्र लिङ्देनले आलमलाई बनियानीमा रहेको जोरकाली मन्दिरमा लगेर भ्रष्टाचार नगर्ने कसम खुवाएर चुनावी मैदानमा उतारेका थिए । अहिले पनि कचनकवलमा त्यसको चर्चा हुने गरेको छ ।
पाँच वर्ष गाउँपालिका चलाएका आलम र राजवंशीलाई नेतृत्वबाट विस्थापन गर्न तीन पार्टी एकत्रित बनेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका नेता कृष्ण सिटौलाको निर्वाचन क्षेत्रमा पर्छ, कचनकवल गाउँपालिका । संसदीय निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर–३ मा यो गाउँपालिका पर्छ । सिटौला र लिङ्देनको राजनीतिक रणभूमि पनि यही हो ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । त्यसबेला एमाले अध्यक्ष ओलीले लिङ्देनलाई सघाएका थिए भने लिङ्देनले ओलीलाई झापाको क्षेत्र नम्बर–५ मा सघाएका थिए ।
तर पाँच वर्षपछि स्थानीय चुनावमा राजनीतिक रंग बदलिएको छ । कांग्रेस र एमालेले स्थानीय चुनावबाट कचनकवलमा राजतन्त्रको अवशेष अन्त्यको उद्घोष गरेका छन् । गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका लागि कांग्रेस र एमालेले संयुक्त रूपमा चुनावी प्रचार गरिरहेका छन् ।
गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशी एमालेसँगको चुनावी गठबन्धन अनौठो नभई स्थानीय आवश्यकताको उपज भएको बताउँछन् ।
‘देशमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि कांग्रेस र एमाले सँगै लडेका दल हुन् । हामीले राष्ट्रिय रूपमा मिलेरै राजतन्त्रको अन्त्य गर्यौं तर त्यसको अवशेष कचनकवलमा अझै बाँकी रह्यो । त्यस अवशेषलाई पनि समूल अन्त्यका लागि हामीले चुनावी तालमेल गर्नुपरेको हो’, राजवंशीले भने ।
स्थानीय मुद्दालाई स्थापित गर्न स्थानीय सत्ता नै प्रतिस्थापन गर्नुपर्ने आवश्यकता भएकाले एमाले र कांग्रेसले चुनावी तालमेल गर्नुपरेको एमालेबाट उपाध्यक्षका उम्मेदवार बनेका नवराज भट्टराईले बताए ।
‘स्थानीय तहमा सुशासन र पारदर्शिता कायम गर्न यहाँको सत्ता नै प्रतिस्थापन गर्नुपर्ने अवस्था भयो । हाम्रो तालमेल स्थानीय आवश्यकताका कारण बनेको हो’, भट्टराईले भने । कांग्रेस र एमालेले संयुक्त रूपमा गाउँपालिका नेतृत्वको बदमासीमाथि प्रश्न उठाउँदै आएको भट्टराईले बताए ।
तर, कचनकवल गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं राप्रपाका उम्मेदवार आलम भने जनतासँग आफ्नो गठबन्धन भएकाले चुनाव जित्नेमा ढुक्क रहेको बताउँछन् ।
‘पाँच वर्षमा हामीले गरेको काम जनताले मन पराएका छन् । विकास भएको छ भन्ने जनताको आवाज छ । अरूले जे–जे गठबन्धन गरे पनि मेरो गठबन्धन जनतासँग छ । म चुनाव जित्दै छु’, आलमले भने ।
२०७४ सालको निर्वाचनमा राप्रपाले चुनाव जित्दा कांग्रेस दोस्रो र एमाले तेस्रो भएको थियो । राप्रापाले करीब ५७ सय मत ल्याउँदा कांग्रेसले ५५ सय र एमाले ३७ सय मत ल्याएको थियो ।
त्यसबेला, गाउँपालिकाको ७ वटा वडामध्ये कांग्रेस र एमालेले दुई–दुई वडाध्यक्ष जितेका थिए । राप्रपाले तीन वडाध्यक्ष जितेको थियो ।
आदिवासी मतदाताको बाहुल्य, गरीबीमाथि राजनीति
झापाको सुदूर दक्षिणमा पर्ने कचनकवलको धेरैजसो भूभाग भारतीय सीमासँग जोडिन्छ । यहाँका कुल मतदातामध्ये करीब ७० प्रतिशत रैथाने आदिवासी छन् । तिनमा पनि गणेश, गनगाई, राजवंशी र मुस्लिम समुदायको बाहुल्य छ ।
उनीहरूको जीविकोपार्जनको एउटै माध्यम खेती र पशुपालन हो । सिँचाइ र मलखादको अभाव हुँदा उनीहरूको खेतीकिसानी पनि अप्ठ्यारोमा पर्ने गरेको छ । खेतमा सिँचाइको सुविधा सुलभ छैन । मशिनको प्रयोग गरेर जमिनमुनिको पानी निकालेर सिँचाइ गर्नुपर्छ । बाली लगाउने बेलामा मल पाइँदैन ।
उक्त गाउँपालिकाको वडा नम्बर ४ का मतदाता अब्दुल रेहान भन्छन्, ‘हाम्रो मुख्य समस्या सिँचाइ र मलखाद हो । भोट माग्न आउँदा नेताहरू सबै समस्या समाधान गर्छु भन्छन् । चुनाव सकिएपछि कोही पनि गाउँमा फर्किएर आउँदैनन् ।’
नेपालमा मल नपाएर भारतबाट किनेर ल्याउँदा पनि नेपाली प्रहरीहरूले दुःख दिने गरेको उनको गुनासो छ ।
‘नेपालमा मल किन्न पाइँदैन । यहाँ पाइए पनि असाध्यै महंगो हुन्छ । भारतबाट ल्याउँदा त्यहाँको पुलिसले केही भन्दैन तर नेपाली प्रहरीले साह्रै दुःख दिन्छन्’, रेहानले भने ।
सोही वडाका अर्का मतदाता वीरसिंह राजवंशी सिँचाइ र मल नै मुख्य समस्या भएको बताउँछन् । नेपालमा मल नपाउने भएकाले खेती लगाउने बेला दुःख पाउने गरेको उनको गुनासो छ ।
‘आफ्नो देशमा मल छैन । पारिबाट (भारत) ल्याउँदा नेपाल प्रहरीले दुःख दिन्छ । दाजु, यसरी त भएन नि भन्छ । रोक्छ । कानून नै त्यस्तो छ भन्छ’, राजवंशीले भने, ‘एउटा बोरामा ल्याएको मल आधाआधा पारेर दुईवटा बोरामा हालेपछि चाहिँ ल्याउन दिन्छ ।’
राजनीतिक दलका नेताहरूले अघिल्लोपटक भोट माग्न आउँदा सबै घरलाई पानी तान्ने एउटा मोटर उपलब्ध गराउने आश्वासन दिएको तर पहुँचवालाले मात्रै मोटर पाएको उनले गुनासो गरे । ‘खेतमा बिजुली पुगेको छैन, त्यो पुर्याइदिए सजिलो हुने थियो । घरघरमा पानी तान्ने मोटर दिन्छु भनेको थियो । केहीले त पाए तर सबैले पाएका छैनन् । बाटो बनाइदिन्छु भनेको बाटो अधुरो नै छ’, राजवंशीले भने, ‘यसपटक पनि हामीलाई जिताइदिनुहोस्, सबैथोकको व्यवस्था गर्छौं भनेका छन् । तर हामीले पहिले जिताएकालाई भोट नदिने सल्लाह गरेका छौं ।’
गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अन्जरा आलमले आफ्ना मतदातालाई मात्रै पानी तान्ने मोटर दिएको आरोप गाउँलेहरूले लगाउने गरेका छन् । अरूले पानी तान्ने मोटर माग्दा आलमले पहिला राप्रपाको सदस्य बन्नुपर्छ भन्ने गरेको स्थानीयले बताए ।
कचनकवल–६ बनियानीका मनोजकुमार राजवंशीले गाउँपालिकामा भ्रष्टाचार भएको आफूले सुनेको बताए । ‘गाउँपालिकामा सात करोड २३ लाख बेरुजु देखिएको भनेका छन् । गाउँमा भएका काम पनि स्थानीयलाई नदिएर बाहिरका मान्छे ल्याएर लगाउने गरेका थिए । गाउँका मान्छेलाई रोजगारी दिएका छैनन्’, उनले भने ।
अनियमितताको आरोप
अन्जरा आलमले गाउँपालिका प्रमुख जितेदेखि नै संस्थागत रूपमा अनियमितमता शुरू गरेको विपक्षीको आरोप छ ।
उनीहरूले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेपछि गाउँमा राप्रपाका तत्कालीन नेता राजेन्द्र लिङ्देन समेत आएर लक्ष्मी क्याम्पसमा छोरी र बुहारीलाई निःशुल्क अध्ययन गराउने घोषणा गरेका थिए ।
उनीहरूको त्यस्तो घोषणापछि भर्ना दर बढ्यो । क्याम्पसमा करीब २०० जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालयका एक शिक्षकले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । तर विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेशन फर्म भर्नेबेलामा भने गाउँपालिकाले विद्यार्थीको शुल्क भुक्तानी गर्न नसक्ने बतायो । पैसा तिर्न नसकेका कारण कतिपय विद्यार्थीले बीचैमा पढाइ छाडेको ती शिक्षकले जानकारी दिए ।
‘निःशुल्क पढाउने भनेपछि भर्ना दर बढ्यो तर पछि आफैं पैसा तिर्नुपर्ने भएपछि विद्यार्थी आउन छाडे । यसले पैसा नभएर गाउँलेहरू पढ्न नआएका रहेछन् भन्ने प्रमाणित भयो । तर गाउँपालिकाले पढाउनका लागि गर्नुपर्ने काम गरेन’, ती शिक्षकले भने ।
३ नम्बर निर्वाचन क्षेत्रमा सभापति रहेका कांग्रेस नेता गीताप्रसाद भट्टराई गाउँपालिकामा असाध्यै ठूलो संस्थागत बेथिति र भ्रष्टाचार देखिएको र स्थानीय तहलाई भ्रष्टाचारको थलो हुनबाट जोगाउन पनि कांग्रेस र एमालेले गठबन्धन गर्नुपरेको बताउँछन् ।
संघीय चुनाव र राष्ट्रिय चुनावमा जेसुकै भए पनि त्यसतर्फ ध्यान नदिएर स्थानीय आवश्यकता अनुसार चुनावी अभियानमा जुटेको उनले बताए ।
‘स्थानीय तहमा साढे सात करोडको बेरुजु देखिएको छ । संस्थागत भ्रष्टाचार छ । राजेन्द्र लिङ्देन भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो भन्नुहुन्छ तर उहाँकै पार्टीले जितेको स्थानीय तह लाजमर्दो स्थितिमा छ । त्यसैले, संघीय र प्रदेशको चुनावमा कांग्रेस एमालेले के गर्छन् भन्ने चिन्ता छैन । अहिले स्थानीय आवश्यकता अनुसार गठबन्धन गरेका छौं’, भट्टराईले भने ।
तर, आलमले भने यी सबै विपक्षीको आरोप मात्रै भएको बताए । ‘धेरैचाहिँ विपक्षीले बनाएका चुनावी आरोप हुन् । बेरुजु सैद्धान्तिक विषय हो । बेरुजु देशभरीको समस्या हो । अहिले फर्स्यौटको काम भइरहेको छ । पेपर मिलाउन नजानेर बेरुजु देखिएको हो । यो खासै ठूलो समस्या होइन’, आलमले भने । आफ्नो कार्यकालमा जनतालाई विभेद नगरेको उनले दाबी गरे ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...