
रूपन्देहीको बुटवल उपमहानगरपालिकामा खानेपानी उपभोक्तालाई रुख चिह्नमा मतदान गर्न भन्दै पत्राचार गरिएको छ ।
कांग्रेसका तर्फबाट बुटवल–११ का वडाध्यक्ष पदका उम्मेदवार जीतबहादुर मल्लले उपभोक्तालाई पार्टी जुनसुकै भए पनि रुख चिह्नमा मतदान गरेर आफूलाई जिताउन अपिल गर्दै पत्राचार गरेका छन् ।
उनी प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हुन् । आफू २०६२ सालदेखि खटिरहेको बताउँदै उपभोक्तालाई मत माग्दै पत्राचार गरेका हुन् ।
खानेपानी संस्थामा १ हजार ५०० उपभोक्ता छन् । उपभोक्ताका घरघरमा पत्र पुगेपछि स्थानीयले सोमवार निर्वाचन आयोगमा उजुरी गरेका छन् । उजुरी परेपछि निर्वाचन कार्यालय बुटवलले कांग्रेस उम्मेदवारलाई गल्ती सच्चाउन मौखिक चेतावनी दिएको छ ।
निर्वाचन कार्यालय बुटवलका प्रमुख लेखनाथ पौडेलले उम्मेदवारले खानेपानीका उपभोक्तालाई अध्यक्षको हैसियतमा रुख चिह्नमा मतदान गर्दै मत माग्दै पत्राचार गर्नु आचारसंहिताको उल्लंघन भएको बताए ।
उनले मेयरका उम्मेदवार खेलराज पाण्डे र वडाध्यक्षका उम्मेदवार जीतबहादुर मल्ललाई फोनमार्फत गल्ती सच्याउन र आइन्दा यस्तो गल्ती नगर्न चेतावनी दिएको बताए ।
‘घरघरमा बाँडिएका पत्र फिर्ता लिएर आउन, आइन्दा यस्तो गल्ती नगर्न र २ घण्टामा लिखित जवाफ फर्काउन निर्देशन दिएको छु,’ उनले भने, ‘कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार पाण्डे र वडाध्यक्ष जीतबहादुरले ठूलो गल्ती भयो, यसलाई सच्याउँछौं भन्नुभएको छ ।’

