२९ जेठ २०८३, शुक्रबार

नक्कली चुरोट रोक्न माग

बैशाख २७, २०७९
नक्कली चुरोट रोक्न माग

 चुरोटको चोरी पैठारी बढ्दा स्वदेशी उत्पादन मर्कामा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । नक्कली चुरोट खुला रूपमै काठमाडौं, तराई भेगमा विक्री वितरण हुँदै आएको भन्दै यसलाई रोक्न उनीहरूले माग गरेका छन् ।

चोरी पैठारीबाट ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको व्यवसायीको भनाइ छ । स्वदेशी चुरोट उत्पादक कम्पनी सूर्य नेपालले कोभिड–१९ कम हुँदै गर्दा पर्यटक आउने क्रम बढेको र योसँगै गैरकानुनी रुपमा आयातित चुरोटको व्यापार पनि बढ्ने बताएको छ । कम्पनीका एक अधिकारीले बजारमा गैरकानूनी रूपमा (चोरी पैठारी) भित्रिएका चुरोटको विक्री वितरण हुँदै आएको बताए । ‘जसले गर्दा स्वदेशी उद्योगको उत्पादनले बजार र सरकारले राजस्व गुमाएको छ,’ उनले भने, ‘चोरी पैठारी नरोक्ने र कर पनि बढाउने हो भने गुट्खा जस्ता अन्य वस्तुको खपत बढ्ने र त्यसबाट राज्यलाई राजस्व प्राप्त हुँदैन ।’

काठमाडौंका बजारमा नक्कली चुरोटको विक्री बढेको पनि कम्पनीले उल्लेख गरेको छ । पर्यटकलाई लक्षित गरेर अन्तरराष्ट्रिय ब्रान्डका चुरोट अहिले बजारमा आएको ती अधिकारीले बताए । ‘कर बढाउँदा चुरोटको उपभोगमा पनि फरक आउँछ,’ उनले भने, ‘कर बढाउँदा सबै वस्तुस्थिति मूल्यांकन गरेर मात्र निर्णय गर्नुपर्छ भने अर्काेतर्फ राज्यले सुर्तीजन्य वस्तुमा एकतर्फी रूपमा कुनै निर्णय गर्न हुँदैन ।’

स्वदेशी सुर्तीजन्य वस्तु उत्पादनको अवस्थालाई विश्लेषण गरेर मात्रै सरकारले नीति लिनुपर्ने बताइएको छ । सुर्तीजन्य वस्तुमा लागेको कर कम भनिए पनि सबैभन्दा बढी विक्री हुने सूर्य नेपालको पाइलट चुरोटमा ७० प्रतिशत कर तिर्नुपरेको उनले बताए । कर बढाउँदा चुरोटको मूल्य बढी हुने र यसले उपभोक्ता गुट्खाजस्ता अन्य सुर्तीजन्य वस्तुको उपभोगमा जाने र राजस्व संकलन पनि घट्ने उनले बताए ।

यसैगरी नेपालमा २ तरीकाले चुरोटको गैरकानुनी व्यापार हुँदै आएको भन्दै उनले भने, ‘काठमाडौं, पोखरा लगायत ठूला शहरमा गैरकानूनी रूपमा अन्तरराष्ट्रिय ब्रान्डको व्यापार हुने र अर्को तर्फ सीमावर्ती क्षेत्रमा भारतबाट नेपाली ब्रान्डकै नक्कली चुरोट पैठारी भएको छ ।’ हाल चुरोटमा कुल विक्री मूल्यको ५५ देखि ७० प्रतिशतसम्म कर लाग्दै आएको छ । चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, मूल्य अभिवृद्धिकर, भन्सारलगायत कर लाग्छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्