
एमाले कार्यकर्ताको अपहरणपछि हत्या गरेको आरोपमा उम्मेदवारसहित ३ जना पक्राउ परेका छन् ।
रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी एमाले कार्यकर्ता जुनमाया बुढा (डुँसी बुढा)को अपहरणपछि हत्या गरेको आरोपमा निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले लोकान्तरलाई बताए ।
जिल्लाको पुथा उत्तरगंगा वडा नम्बर ११ टक्सेरामा चुनावी प्रचारप्रसारको क्रममा माओवादी र एमाले कार्यकताबीच झडप भएको थियो ।
सोही घटनामा क्सेराकी ३९ वर्षीया जुनमायालाई माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको डीएसपी डाँगीले बताए ।
झडपपछि ३ जनाको अपहरण भएको भन्दै एमालेले र माओवादीले पनि ३ जना हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीमा जुनमायाको अपहरण गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्व निवेदन दिएको थियो ।
निवेदनपछि प्रहरीले खोजतलास गर्दा जुनमायाको शव टक्सेरादेखि २ घण्टा हिँडाइको दूरीमा रहेको दानव जंगलमा भेटिएको डीएसपी डाँगी जानकारी दिए ।
‘गाउँमा चुनाव प्रचारका क्रममा दुवै पार्टीका कार्यकर्ताहरूबीच झडप भएको रहेछ,’ डीएसपी डाँगीले भने, ‘झडपपछि माओवादीले हाम्रा तीन जना नेता कार्यकर्ताहरु हराए भनेर निवेदन दिए । एमालेले दुई जना हराए भनेर निवेदन दिएका थिए । हराएकामध्ये ४ जना भोलिपल्ट (२० गते) साँझसम्म सम्पर्कमा आए । जुनमाया सम्पर्कमा आइनन् । त्यसपछि प्रहरीले खोजी अगाडि बढायो । खोजतलासको क्रममा २६ गते उनको हत्या गरिएको अवस्थामा जंगलमा भेटिएको हो ।’
मृतक जुनमायाका दाजुभाइहरू एमाले समर्थित रहेको जानकारीमा आएको डाँगीको भनाइ छ । झडप भएको ठाउँमा जुनमाया विवाद मिलाउन भन्दै पुगेकी थिइन । त्यहीँबाट उनलाई अपहरण गरेको बताइएको छ ।
शवलाई एक्स्पर्ट विशेषज्ञसँग पोस्टमार्टम गर्न भनी बुटवल ल्याएको छ । घटनामा संलग्न भएको अभियोगमा जनप्रतिनिधिसहित ३ जना माओवादी कार्यकर्ता पक्राउ परेका हुन् ।उनीहरुलाई अदालतबाट कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डाँगीले जानकारी दिए ।
एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सह-इन्चार्ज दधिराम न्यौपानेले माओवादीले आधार इलाकामै कमजोर भएपछि हत्या र हिंसाको सहारा लिएको बताए । उनले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम समेत त्यता गर्न नसक्ने अवस्था सिर्जना गराइएको बताए ।
न्यौपानेसहित एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेललगायतका नेताहरू हालै उक्त क्षेत्रको चुनावी अभियानका बारेमा स्थलगत जानकारी लिएर आएका थिए ।
त्यसबेलामा एमालेको माहोल राम्रो पाइएको र त्यहीँ माहोलले अत्तालिएर माओवादी हिंसामा उत्रिएको एमाले नेताहरूको दाबी छ ।
सो घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँ सभापति तपश बुढाले गठबन्धनमा रहेको कार्यक्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेको र अपहरण गरी हत्या गरेर जघन्य अपराध गरेको बताए । उनले घटनाको वास्तविकताका लागि आफैंले शव पोष्टमार्टम गर्न बुटवल ल्याएको बताए ।
मृतकका भाइ धनकुमार बुढाले आफ्नो दिदीको हत्या माओवादीकै कार्यकर्ताले गरेको भए पनि प्रहरीले छानबिनका लागि वास्ता नगरेको भन्दै यथार्थ विवरण बाहिर ल्याउन आग्रह गरे ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भएको पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रसँग समय-समयमा विवाद उत्पन्न हुने तथा दुई समूहबीच झडप हुँदै आएको छ ।