१० साउन २०८३, आइतबार

श्रीलंकामा जातीय र धार्मिक हिंसा फैलिने जोखिम, के गर्दैछ सरकार ?

बैशाख २८, २०७९
श्रीलंकामा जातीय र धार्मिक हिंसा फैलिने जोखिम, के गर्दैछ सरकार ?

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले बुधवार जनताको नाममा सम्बोधन गर्दै देशमा जातीय तथा धार्मिक सद्भाव खलबल्याउने प्रयास भइरहेको बताएका छन् । 

सरकारले आर्थिक संकटको व्यवस्थापन गर्न नसकेकाले देशका विभिन्न भागमा हिंसा भड्किएपछि राष्ट्रपतिको सम्बोधन आएको हो ।  

यसै सातमा मात्र आठजना हिंस्रक प्रदर्शनमा मारिइसकेका छन् । राष्ट्रपतिका दाइ महिन्दा राजपक्षेले पदबाट राजीनामा दिइसकेका छन् । तैपनि जनताको आक्रोश मत्थर भएको छैन । 

राजपक्षे परिवारकै कारण देशमा आर्थिक संकट आएको आरोप विरोधीहरूले लगाउने गरेका छन् । 

अहिले देशमा लगभग ५ करोड डलर मात्र विदेशी मुद्रा सञ्चिति छ । त्यसले गर्दा देशमा सामान आयात गर्न सकिएको छैन । इन्धन, खाना पकाउने ग्यास र अन्य अत्यावश्यक वस्तुहरूको चरम अभाव छ । 

‘आर्थिक, सामाजिक र राजनीतिक चुनौतीबाट पार पाउन अहिले श्रीलंकालीहरू सबै एकजुट हुने बेला आएको छ,’ राजपक्षेले बताए । ‘म सबै श्रीलंकालीहरूलाई जातीय तथा धार्मिक सद्भाव बिथोल्ने प्रयासहरू परास्त गर्न आग्रह गर्छु । नरमपना, सहिष्णुता र सहअस्तित्वको प्रवर्धन गर्नु आवश्यक छ ।’

श्रीलंकामा जातीय तनावको लामो र हिंस्रक इतिहास छ । 

राजपक्षे र उनका दाइ महिन्दा सन् २००९ मा गृहयुद्ध अन्त्य हुँदा सरकारमा थिए । त्यतिखेर सेनाले अल्पसंख्यक तमिल समुदायका लडाकूहरूलाई परास्त गरेका थिए । 

कुल २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा बहुसंख्यक सिंहाली बौद्धहरू छन् । देशमा मुसलमान, हिन्दू र क्रिस्चियन अल्पसंख्यक पनि छन् । 

सोमवार राजपक्षेहरूको पुर्ख्यौली घरमा आगो लगाइएको भिडियो सार्वजनिक भएको थियो । सांसदहरूको घर र सम्पर्क कार्यालयमा पनि आक्रमण भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्