
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ओएण्डएम कार्यान्वयन गर्ने पहिलो निकाय बनेको छ ।
मन्त्रालय र मातहतका निकायका २८३ वटा पदहरू फास्ट ट्रयाकबाट दर्ता भइसकेका राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए ।
मन्त्रालयले पहिलो चरणमा आफ्नो र मातहतका दुई निकाय क्रमशः राष्ट्रिय किताबखाना तथा सहकारी रजिष्ट्रारको कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज औपचारिक दर्ताका लागि २०८३ साउन ८ गते राष्ट्रिय किताबखानामा पठाएको थियो ।
महानिर्देशक पोखरेलले वर्तमान सरकारको मर्मअनुरूप ओएण्डएम कार्यान्वयन गर्ने सन्दर्भमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबैभन्दा अगाडि देखिएको र प्राप्त दरबन्दी तेरिज दर्ता गरिसकिएको जानकारी दिए ।
नयाँ व्यवस्थाअनुसार मन्त्रालयमा विशिष्ट श्रेणीको १ सचिव र ६ जना सहसचिव रहने गरी दरबन्दी स्वीकृत गरिएको छ ।
सहसचिवतर्फ प्रशासन सेवाका ४, न्याय सेवाका १ र इन्जिनियरिङ सेवाका १ जना रहने महानिर्देशक पोखरेलले बताए ।
मन्त्रालयमा विशिष्टदेखि श्रेणीविहीन युनिटसम्म गरी कुल १४० दरबन्दी स्वीकृत भई दर्ता भएको छ । साविकमा दुवै मन्त्रालय गाभिँदा कुल २२५ दरबन्दी कायम रहेको थियो ।
सहकारी रजिष्ट्रारको कार्यालयतर्फ ३७ दरबन्दी
यसैगरी, साविकका एउटै कार्यप्रकृति भएका सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकृत गरी 'सहकारी रजिष्ट्रारको कार्यालय' बनाइएको छ ।
यस कार्यालयतर्फ १ जना रजिष्ट्रार (सहसचिव)सहित कुल ३७ दरबन्दी स्वीकृत भएको महानिर्देशक पोखरेलले जानकारी दिएका छन् । साविकमा यी दुवै निकायमा कुल ५५ दरबन्दी कायम रहेको थियो ।
राष्ट्रिय किताबखानाको पुनर्संरचना र कटौती
यसपटक राष्ट्रिय किताबखानातर्फ पनि महत्त्वपूर्ण सांगठनिक परिवर्तन भएको पोखरेलले जनाएका छन् ।
यसअघि कर्मचारी खटनपटन र बजेट तथा अख्तियारी प्रवाहका दृष्टिकोणले अलग रहेका शिक्षक किताबखाना र प्रहरी किताबखानाको छुट्टै अस्तित्व खारेज गरी राष्ट्रिय किताबखानाको शाखाका रूपमा मात्र रहने गरी पुनर्संरचना गरिएको छ ।
समान प्रकृतिका कार्य गर्ने तीनवटै निकायलाई एउटै नियन्त्रण र आदेशको दायराभित्र ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष अग्रसरता देखाएको छ ।
नयाँ पुनर्संरचना अनुसार अब राष्ट्रिय किताबखानामा १ जना मात्र सहसचिव (महानिर्देशक) को दरबन्दी रहनेछ ।
यसअघि कायम रहेका प्रशासन सेवाका थप २ र शिक्षा सेवाका १ गरी कुल ३ जना सहसचिवको दरबन्दी कटौती गरिएको महानिर्देशक पोखरेलले बताए ।
राष्ट्रिय किताबखानाको पुनर्संरचनासँगै साविकमा रहेका तीनवटै निकाय (निजामती, शिक्षक र प्रहरी) को कुल १३८ दरबन्दी कटौती भई अब १०६ मात्र कायम भएको पोखरेलले जनाएका छन् ।