
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चैत महिनाको उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको देखिएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ ।
समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ ।
२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ समग्र मुद्रास्फीति खाद्य तथा पेय पदार्थ गैर–खाद्य तथा सेवा प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ ।