
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रममा लगाएका आरोपहरू प्रमाणित गर्न चुनौती दिएका छन् ।
ललितपुरस्थित एक होटलमा बुधवार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोपमध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाणित गर्न चुनौती दिएका हुन ।
‘मलाई २० औँ आरोप लगाइएको छ, तीमध्ये कुनै पनि आरोप पुष्टि गर्न चुनौती दिन्छु,’ उनले भने, ‘यदि पुष्टि भएमा म फुटबलको विषयमा कुनै पनि चर्चा गर्दिनँ ।’
पूर्व अध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताए ।
लामो समय फुटबलमा बिताएको र व्यवस्थापनमा पनि आपूmले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पीडा भएको सुनाए ।
एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्ष उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको उनले स्वीकार गरे । सोही कारण आफूले फिफाको प्रतिबन्ध भोगेको बताए ।
थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो ।
पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धसहित उनीमाथि करिब २१ लाख रूपैयाँ जरिवाना गरिएको थियो । फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घुस लिएको आरोप लगाएको थियो ।