
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ ।
२५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उनी लुम्बिनी आउन लागेका हुन् ।
भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुधवार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी आइपुगेको छ ।
भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो ।
टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
वायुसेनाको विमान सुरक्षाकर्मी र गाडी यहाँ छाडेर दिल्ली फिर्ता भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए ।
उनका अनुसार कूटनीतिक उडान गर्दै आएको भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ सुरक्षाकर्मी र गाडी लिएर भैरहवा आएको हो।
लुम्बिनी आएपछि मोदीले भारतले निर्माण गर्न लागेको विहारसम्म पुग्ने कार्यक्रम छ ।
त्यसका लागि विहारसम्म पुग्ने बाटो निर्माणलाई विकास कोषले तीव्रता दिएको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी)मार्फत जर्मन स्तूप उत्तर विहार बनाउन लागेको हो ।
उक्त संस्था अहिले भारतीय संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ । उक्त विहारको शिलान्यास प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने कार्यक्रम छ । गोरखापत्र दैनिकमा श्यामशङ्कर पाण्डेले खबर लेखेका छन् ।