![भरतपुरमा प्रचण्ड र मन्त्रीको ताँती, गठबन्धनको उम्मेदवारी रद्द गर्न एमालेको माग [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/chitwan__4um5WOSSD0.png)
नेकपा एमालेले चितवनमा आचारसंहिताविपरीत पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरू मतदाता प्रभावित गर्ने कार्यमा संलग्न भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बिहीवार विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने कार्य गरेको भन्दै आयोगको ध्यानाकर्षण गराएका हुन् ।
साथै विज्ञप्तिमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गठबन्धनका उम्मेदवारहरूको उम्मेदवारी रद्द गर्न माग समेत गरिएको छ ।
'राज्यको उच्च तहमा रहेका व्यक्तिहरूबाट नै यसप्रकारका कार्य हुनुले निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको छ । आचारसंहिता गम्भीर उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरूको उम्मेदवारी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ ।
भरतपुर र माडीमा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएर तालमेल गरेका छन् ।
हेर्नुहोस्, विज्ञप्ति :