२४ जेठ २०८३, आइतबार

भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न चिटिक्क पारिँदै लुम्बिनी, पर्यटन व्यवसायी उत्साही [फोटोफिचर]

बैशाख २९, २०७९
भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न चिटिक्क पारिँदै लुम्बिनी, पर्यटन व्यवसायी उत्साही [फोटोफिचर]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउने भएपछि लुम्बिनीलाई चिटिक्क पारिएको छ ।

मोदी आगामी जेठ २ गते २५६६औं बुद्ध जयन्तीको दिन लुम्बिनी आउँदैछन् । मोदीको यो लुम्बिनी भ्रमण पहिलो हुनेछ । 

मोदीको भ्रमणलाई लिएर लुम्बिनीसहित समग्र रुपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । मोदीको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) को टोली बिहीवार नै लुम्बिनी आइपुगेको छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले लुम्बिनीसहित सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनेको बताए । मोदी हेलिकप्टरमार्फत सिधै लुम्बिनी आउनेछन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सोही दिन लुम्बिनी आउनेछन् ।

मोदी र देउवाको भेट लुम्बिनीमै हुनेछ । मोदी आउने भएपछि सरसफाइ लगायत व्यवस्थित रूपमा तयारी थालिएको छ । लुम्बिनी मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ ।

बाहिरी पुरातात्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरको भित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर राम्रा चिटिक्क पारिएको छ । स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलिमिली बत्ती राखिएको छ । 

ठाउँठाउँमा बुद्ध वचन, वाणी र पञ्चशिलका नयाँ तुल व्यानर टाँसिएको छ । आगन्तुकलाई स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षभन्दा यसपटक लुम्बिनीलाई विशेष रूपमा सजाउनुका साथै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्ध जयन्तीका लागि तयारी पूरा हुने क्रममा रहेको बताए । लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएको बताइएको छ । सभाहल नेपालकै सम्भवत ठूलो हो । जुन बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री देउवाले औपचारिक रूपमा उद्घाटन गर्नेछन् । सोही दिन प्रधानमन्त्री देउवाका भारतीय समकक्षी नरेन्द्र मोदीले पनि हलबाट सम्बोधन गर्ने कार्यतालिका छ ।

मोदीको यो पाँचौं नेपाल भ्रमण हो । मोदीको यसअघिका भ्रमणमा पनि लुम्बिनी आउने बताइए पनि आएका थिएनन ।

मोदीको भ्रमणलाई लिएर लुम्बिनीका पर्यटन व्यवसायी उत्साही भएका छन् । कोरोनाले थला परेको पर्यटन क्षेत्र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलाएमान हुने अपेक्षा छ । त्यसैदिन विमानस्थलको औपचारिक उद्घाटन समेत हुनेछ ।

रुपन्देहीका पर्यटन व्यवसायी रामप्रसाद गौतमले अब रुपन्देही र लुम्बिनी पर्यटनको केन्द्र बन्ने देखिएपछि व्यवसायी उत्साहित भएका बताए । 

salt training

कमेन्ट गर्नुहोस्