०८ साउन २०८३, शुक्रबार

मोरङमा शनिवार बिहानदेखि मात्रै मतगणना हुने

बैशाख २९, २०७९
मोरङमा शनिवार बिहानदेखि मात्रै मतगणना हुने

जल तथा मौसम विज्ञान विभागले मतदानको दिन पानी पर्न सक्ने जनाएपछि मोरङका मतदानस्थलमा मतपेटिका सुरक्षित गर्नका लागि टेन्ट तथा त्रिपालको व्यवस्था गरिएको छ ।

विभागले चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको थियो । मौसमको प्रतिकूलतालाई हेरेर मतदानस्थलमा मतपेटिका सुरक्षित गर्नका लागि त्रिपाल, प्लास्टिक तथा टेन्टको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । ३०० मतदानस्थल र ८२० वटै मतदान केन्द्रमा मतपेटिका सुरक्षित गर्नका लागि पानी पर्दा पनि मतपेटिका नभिज्ने व्यवस्था मिलाइएको उनले बताए । 

मतदानस्थलदेखि मतगणनास्थलसम्म सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रजिअ दाहालले बताए । 

मोरङमा नेपाल प्रहरीका १ हजार ९७२, सशस्त्र प्रहरीका ६८६, राष्ट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी ३ हजार १२४ जना सुरक्षाकर्मी निर्वाचनमा खटिएका छन् । निर्वाचन सुरक्षामा नेपाली सेना पनि परिचालित भएको छ ।

मोरङका १७ वटै स्थानीय तहमा मतगणनास्थल समेत तयारी गरिसकिएको छ । मतगणनास्थलमा तारजाली लगाउने सीसी क्यामरा जडान गर्ने जस्ता काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भने शनिवार बिहानदेखि मात्रै गरिने मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए ।

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना गर्न निर्देशन दिएको छ ।

मोरङका भौगोलिक विकटता भएका क्षेत्रबाट मतदानस्थलमा मतपेटिका आउन समय लाग्ने तथा मतदानमै खटिएका कर्मचारीलाई गणनामा राख्नुपर्ने भएकाले शनिवार बिहानदेखि गणनाको तयारी थालिएको मुख्य निर्वाचन अधिकृत लम्सालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्