
स्थानीय तहको निर्वाचन सम्पन्न गर्न रसुवा जिल्लामा सबै खाले तयारी पूरा भएको छ ।
जिल्लाका ३४ मतदानस्थलका ५१ मतदान केन्द्रमा तयारी पूरा गरिएको हो । मतदान सम्पन्न गराउन २५५ कर्मचारी, १५३ स्वयंसेवक र आवश्यकता अनुसार सुरक्षाकर्मी समेत सम्बन्धित मतदान केन्द्रमा परिचालन भइसकेका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।
मतदानका लागि बुथ निर्माण र मतदान अधिकृतद्वारा सर्वदलीय बैठक समेत सम्पन्न गराइसकेका कारण मतदान सहजरूपले सम्पन्न हुने धुञ्चे मतदान केन्द्र प्रमुख गीता पोखरेलले बताए ।
दूरदराजको क्षेत्र लाङटाङमा मतदान सम्पन्न भएपछि गणनाका लागि हेलिकप्टरमार्फत मतपेटिका धुञ्चे ल्याउने तय भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा ५ मतदान अधिकृतको कार्यालय स्थापना भएको र लाङटाङ क्षेत्र गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने भएकाले गणनाका लागि सदरमुकाम ल्याउन लागिएको हो । मतगणनास्थलमा सीसी क्यामेरासहित सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।