
ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने कार्य गरेको अभियोग छ ।
उनले प्रहरी कर्मचारीहरुलाई समेत असर पुर्याउने किसिमको कार्य गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी/दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएको जनाएको छ ।
उनीलाई प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निज उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णय अनुसार ३ महिनाको लागि निलम्बन गरिएको छ ।