
पोखरा, १९ पुस - नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएपछि पारित हुने ठोकुवा गर्नुभएको छ ।
काँग्रेस कास्कीले आज बिहान आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता श्रेष्ठले अहिले ल्याइएको संशोधन प्रस्ताव काँग्रेस–एमालेका शीर्ष नेताहरुले पहिले नै हस्ताक्षर गरिसकेको प्रस्ताव भएकाले यो स्वतः पारित हुने जिकिर गर्नुभयो ।
प्रस्तावको अहिले एमालेले विरोध गर्नु सत्ताबाट बाहिरिँदाको पीडा मात्रै भएकोे आरोप लगाउँदै उहाँले चैत–वैशाखमा स्थानीय तहको निर्वाचन गर्न पनि मधेसी मोर्चाका माग सम्बोधनका लागि संविधान संशोधन गर्नु जरुरी छ भन्नुभयो ।
काँग्रेसका अर्का नेता शुक्रराज शर्माले काँग्रेसको आदर्शलाई आत्मसात् गर्दै अघि नबढ्ने हो भने पार्टीको अवस्था बिग्रँदै जाने विचार व्यक्त गर्नुभयो । रासस