
धनुषाको शहीदनगर नगरपालिकामा एक दृष्टिविहीन मतदाताको इच्छाविपरीत सहायक मतदान अधिकृतले छाप लगाएको विषयमा विवाद उत्पन्न भएपछि हवाई फायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले धनुषाको शहीदनगर नगरपालिकाको वडा नम्बर १ को कुम्भकर्णस्थित मतदान केन्द्रमा १ राउण्ड हवाई फायर गरिएको बताए ।
७० वर्षीय दुखी साह सोनारको मत त्यहाँका सहायक मतदान अधिकृतले उनको इच्छाविपरीत अन्य पार्टीमा स्वस्तिक छाप लगाइदिएको भन्ने विषयमा अन्य विपक्षीले विवाद गरेपछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको उनले बताए ।
पछि उक्त मतपत्र बदर गर्ने निर्णय गरिएको थियो । अहिले उक्त मतदान केन्द्रमा अवरुद्ध भएको मतदान सुचारू भएको उनले बताए ।