३२ असार २०८३, बिहीबार

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटनाको कारण अधिक यात्रु र दाउराको भारी

बैशाख ३०, २०७९
स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटनाको कारण अधिक यात्रु र दाउराको भारी

स्याङ्जाको वालिङ नगरपालिका-१४, अर्खलबासमा मतदाता बोकेको ग २ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान १०ः३० बजे ​पञ्चमूलमा दुर्घटना हुँदा मतदान गर्न हिँडेका १४ जनाले ज्यान गुमाएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । 

वालिङ नगरपालिका-१४ का वडाध्यक्ष झम्बरबहादुर श्रेष्ठका अनुसार जीपमा २५ जना र दाउरा पनि राखेर ल्याएको रहेछ । यात्रु पनि क्षमता बढी हुँदा ओरालो र जोमिखपूर्ण घुम्तिमा चालकले मोड्न नभ्याउँदा दुर्घटनामा परेको देखिएको छ । वालिङको १४ नम्बर तिवारी पसल मतदान केन्द्रमा मतदान गर्न जाँदा दुर्घटना भएको हो ।

वडा अध्यक्षका उम्मेदवर नेपाली कांग्रेसका बोधराज कुँवर छन् । उनले मतदातालाई सहजीकरण गर्न सवारीसाधनबाट लैजाने व्यवस्था मिलाएको भएपनि दुःखद घट्ना घट्न पुगेको श्रेष्ठले जानकारी दिए । उक्त सवारी दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये सबैकाे उद्दार गरेर पोखरा पठाइसकिएको छ ।

मृतक सबैको शव भने वालिङकै जरङ घ्याङदीको स्वास्थ्य चौकीमा राखिएको छ । दुर्घटनामा परेको उक्त सवारी साधन सडकबाट करीब १५० मिटर तल खसेको छ। निर्वाचनकै दिन यस्तो हुनु र दुर्घटमा परेर एउटै गाउँका १३ जनाले ज्यान गुमाउनु दुखद भएको पनि श्रेष्ठले बताए ।

उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा वालिङ–१४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, सोही ठाउँका नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर छन् ।

प्रहरी प्रवक्ता खनालका अनुसार घाइते हुनेमा वालिङ १४ पञ्चमूल अर्खलबास बस्ने वर्ष नखुलेकी बेलमाया कुँवर, सोही ठाउँका चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर रहेका छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको छ । सबैलाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । 

 सोही ठाउँका ५५ वर्षीय नेत्रबहादुर कुँवरको अवस्था मध्यम रहेकाले उहाँको वालिङमै उपचार भइरहेको छ । तिवारी पसलमा मतदान चलिरहेको छ । सोही मतदान केन्द्रमा मतदान गर्न आउँदै गरेका एकै गाउँका धेरैको सङ्ख्यामा मृत्यु भएपछि अहिले गाउँ नै पूरै शोकमा डुबेको छ ।

salt training

कमेन्ट गर्नुहोस्