
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ । शनिबार राति साढे ११ बजेसम्म १४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा एमालेले सबैभन्दा धेरै ६ पालिका प्रमुखमा जित हासिल गरेको छ भने काँग्रेसले ५, एकीकृत समाजवादी पार्टीले २ तथा नेकपा माओवादी केन्द्रले १ पालिकामा जित हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार चामे गाउँपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र बहादुर घले, सेफोक्सुण्डो गाउँपालिकामा धावा धावा गुरुङ, डिस्याङ गाउँपालिकामा कान्छा घले तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । यस्तै लोमङ्थाङ गाउँपालिकामा एमालेकै टसी न्हर्बु गुरुङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ विजयी भएका छन् ।
यसैगरी काँग्रेसका उम्मेदवार कोन्जो तेन्जिङ लामा नार्पा भूमि गाउँपालिकाबाट विजयी हुँदा नार्सो गाउँपालिकाबाट धनबहादुर गुरुङ, घ।पझोङ गाउँपालिकाबाट मोहन सिंह लालचन, गन्यापधुरा गाउँपालिकाबाट इन्द्र बहादुर कार्की र रेसुंगा नगरपालिकाबाट खिलध्वज पन्थी विजयी भएका छन् ।
यसैगरी एकीकृत समाजवादीका उम्मेदवार डोल्पाका दुई गाउँपालिका (काइके र छार्का ताङसोङ गाउँपालिका) बाट क्रमशः अंगद कुमार राना र सेनाङ गुरुङ विजयी भएका छन् । यस्तै माओवादी केन्द्रका नारा सिं रोकाया जगदुल्ला गाउँपालिकाबाट विजयी भएका छन् ।
उपप्रमुखमा एमाले ५, काँग्रेस ५, माओवादी २ र समाजवादी १ स्थानमा विजयी हुँदा बाँकी एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएको आयोगले जनाएको छ ।