
पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा एमालेका यमबहादुर चिदी निर्वाचित भएका छन् । उनी ६ हजार १०९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
चिदीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
दोहोर्याएर पालिका अध्यक्ष उम्मेदवार बनेका थापाले ५ हजार ५५४ मत ल्याए ।
यस्तै गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकी विष्णुमाया लुङ्चे निर्वाचित भएकी छन् ।
उनी ५ हजार ८८२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६४४ मत प्राप्त गरेको माथागढी गाउँपालिका निर्वाचन अधिकृत मीना अर्यालले जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुने चिदी र लुङ्चे दुवै दुई दशकभन्दा लामो समय स्वास्थ्य सेवामा बिताएका पूर्व स्वास्थ्यकर्मी हुन् ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा यस पालिकामा नेपाली कांग्रेसले क्लिनस्विप पारेको थियो ।