०५ साउन २०८३, मंगलबार

गुल्मीको चुनाव : निवर्तमान अध्यक्ष र उपाध्यक्ष हारे, प्रभावशाली नेताले आफ्नै पालिका गुमाए !

जेठ ३, २०७९
गुल्मीको चुनाव : निवर्तमान अध्यक्ष र उपाध्यक्ष हारे, प्रभावशाली नेताले आफ्नै पालिका गुमाए !

गुल्मीको मालिका गाउँपालिका गत निर्वाचनमा नेकपा एमालेका रितबहादुर थापा निर्वाचित भएका थिए । यसपटक दोहोरिएन उम्मेदवारी दिएका थापा पराजित भए ।

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देवीराम अर्यालले ६ हजार १७६ मतका साथ विजयी हुँदा थापा ४ हजार ६१७ मतमा खुम्चिए । उपाध्यक्षमा रनमाया पुनलाई पराजित गरी नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३३४ मतका साथ विजयी भए । 

ईस्मा गाउँपालिकाको उपाध्यक्षमा एमालेले विमला खत्रीलाई दोहोर्‍याएर उम्मेदवार बनायो । एमाले सचिव गोकर्ण विष्टको गृह गाउँपालिकामा एमालेले जोगाउन सकेन । निवर्तमान उपाध्यक्ष विमलालाई पराजित गर्दै उपाध्यक्षमा कांग्रेसकी पार्वती कुँवर विजयी भइन् । 

अध्यक्षमा पनि कांग्रेसकै भगतसिंह खड्का ५ हजार ५८९ मतका साथ विजयी भए । एमालेले आफ्नो किल्ला बताउँदै आएको ईस्मा अहिले गठबन्धनको बलमा कांग्रेसले भत्कायो ।

गुल्मीकै सत्यवती गाउँपालिकामा कांग्रेसका निवर्तमान अध्यक्ष पारिश्वर ढकाल पराजित भए । ढकाललाई हराउँदै यसपटक एमालेका टीकाराम पाण्डे (भीमप्रसाद) ले ६ हजार २६७ मतका साथ विजयी भए । दोहोरिएर उम्मेदवार बनेका ढकालले ५ हजार ६११ मत मात्र ल्याउन सके । 

गुल्मीको चन्द्रकोट गाउँपालिकाको उपाध्यक्षमा दोहोरिएर राधिका अर्याल एमालेबाट उम्मेदवार थिइन् तर यसपटक अर्यालले जीत निकाल्न सकिनन् । उनी कांग्रेसका विष्णुप्रसाद भण्डारीसँग पराजित भइन् । भण्डारी ५ हजार १६ मतका साथ विजयी हुँदा अर्यालले ३ हजार ३४७ मत मात्र ल्याइन् ।

गुल्मीकै कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाकी तारा थापालाई पराजित गर्दै एमालेकी मन्जुकुमारी दर्लामीले बाजी मारिन् । थापालाई दर्लामीले १०० मतान्तरले हराइन् । थापाले ४ हजार ३८४ ल्याउँदा दर्मामीले ४ हजार ४८४ मत ल्याइन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका बेदबहादुर थापा ४ हजार ८१० मतका साथ दोहोरिएन निर्वाचित भए । गुल्मीका १२ वटै पालिकाको अन्तिम मत परिणाम मंगलवार सार्वजनिक भएको छ । २ नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा अहिले गठबन्धनको बलमा नेपाली कांग्रेस पहिलो शक्ति बनेको छ ।

कांग्रेसले रेसुंगा नगरपालिका, मदाने, गुल्मी दरबार, कालीगण्डकी र ईस्मा गाउँपालिकामा जीत निकाल्यो । गत २०७४ सालको निर्वाचनमा एमालेले जितेका रेसुंगा, मदाने, ईस्मा यसपटक कांग्रेसले खोस्यो । 

रेसुंगा नगरपालिकामा कांग्रेसका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थी मेयर र उपमेयरमा पनि कांग्रेसकै अमृतादेवी कुँवरले जितिन् । मदानेमा कांग्रेसका महेन्द्र कुँवरले जीत निकाले भने उपाध्यक्षमा एमालेबाट सरिता खड्काले बाजी मारिन् । 

गुल्मी दरबारमा कांग्रेसकै अध्यक्ष सरोज थापा र तारा थापाले उपाध्यक्षमा जीत निकाले । 

नेकपा एमालेबाट मुसिकोट नगरपालिकाको मेयरमा जीवलाल खरेल र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भए । छत्रकोटको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवालीले जीत निकाले ।

छत्रकोट कांग्रेसको गढ मानिन्थ्यो । सत्यवती गाउँपालिकाको अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया तरामुले जिते । २०७४ सालमा एउटा पालिका मात्र जितेको माओवादीले यसपटक ४ पालिकामा जीत निकालेको छ । धुर्कोट, मालिका, चन्द्रकोट र रुरु गाउँपालिकामा माओवादीले जीत निकालेको छ ।

गुल्मीको रूरूक्षेत्र गाउँपालिका नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्थ्यो, जुन एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका हो । यसपटक रुरुमा माओवादीले जीत निकाल्यो ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले एमालेको तर्फबाट उम्मेदवार हिमाल श्रेष्ठलाई पराजित गरे । सचिव गोकर्ण विष्टले ३ दशकदेखि वर्चश्व कायम राखेको ईस्मा एमालेले गुमाएको छ । गाउँपालिका प्रमुखमा कांग्रेसका भगतसिंह खड्काले एमालेका हिरा एसीलाई १२५ मतान्तरले पराजित गरेका छन् ।

कांग्रेस नेता डा. चन्द्र भण्डारीको गृह पालिका छत्रकोट गाउँपालिकालाई यसपटक एमालेले खोस्यो । एमालेका रामप्रसाद पाण्डेय अध्यक्षमा विजयी भए ।

उपाध्यक्षमा एमालेकी सावित्रा ज्ञवाली विजयी भइन् । शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको पालिका मदाने हो । मदानेमा समाजवादीका कुनै उम्मेदवार थिएनन् । समाजवादीले धुर्कोट र मुसिकोटमा उपाध्यक्ष/उपप्रमुख पाएको थियो तर धुर्कोटको उपाध्यक्षमा चन्द्र सुनार २ हजार ५०० बढी र मुसिकोटको उपप्रमुखमा श्रीराम महत पराजित भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्