
युरोपको बेल्जियममा लामो समयदेखि व्यापार तथा बसोबास गरी हालसालै परिवारसहित नेपाल फर्किएका बागलुङ तङ्ग्रामका राजु थापा नेपाली कांग्रेसका तर्फदेखि काठेखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
२० वर्षअघिसमेत बागलुङको तत्कालीन तङ्ग्राम गाउँ विकास समितिको अध्यक्ष भइसकेका थापा फेरि २० वर्षपछि काठेखोला गाउँपालिकाको अध्यक्षमा ७ हजार ७५० मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल बहादुर कार्कीलाई एक हजार मतान्तरले जीत हासिल गरेका छन् । कार्कीले ६ हजार ७५० मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेसको राजनीतिमा थापा लाई कुनै गुट उपगुटमा नरमाउने साझा पात्रको रुपमा हेरिन्छ । तर, उनले उम्मेदवारी दिएपछि एमालेले थापासँग विदेशी नागरिकता रहेको भन्दै उजुरीसमेत दिएको थियो ।
तर, छानबिनपश्चात थापासँग नेपाली राहदानी नै रहेको र देश विदेशको यात्रामा नेपाली राहदानी प्रयोग गरेको देखिएपछि अदालतले उजुरीलाई खारेज गरिदिएको थियो ।