फिनल्यान्ड र स्विडन नेटोको सदस्य बन्नबाट रोक्न क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले नेटोका लागि देशका राजदूत मारियो नोबिलोलाई निर्देशन दिने योजना बनाएका छन् ।
आरटीमा छापिएको खबरअनुसार, ती दुई देशलाई सदस्य बनाउनबाट रोक्दा बोस्निया हर्जगोभिनामा रहेका क्रोएसियालीहरूको समस्यामा ध्यान पुग्ने मिलानोभिचको सोच छ । अहिलेको निर्वाचन कानूनअनुसार क्रोएसियाली सांसदहरू बोस्नियाली मुसलमानको भोट पाएर निर्वाचित हुने गरेका छन् । क्रोएसियाले यसलाई रोक्न चाहेको छ ।
‘मैले पहिले पनि भनेको छु– रुस र फिनल्यान्डको सीमाभन्दा पनि मेरा लागि बोस्नियामा रहेको क्रोएसियालीहरू महत्त्वपूर्ण छन्,’ मिलानोभिचले बताए ।
स्कटहोम र हेल्सिन्कीले तटस्थताको इतिहास भत्काउँदै नेटोको सदस्यताका लागि औपचारिक निवेदन दिइसकेका छन् । तर त्यसमा जोडिन नेटोका सबै सदस्यको सम्मति आवश्यक हुन्छ ।